>
भाद्र ११, हेटौंडा>
बागमती विश्वविद्यालय, हेटौंडा क्याम्पसका ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) तथा ब्याचलर अफ एजुकेसन (बीएड) मा अध्ययनरत विद्यार्थीहरुले बाह््य देशका प्राध्यापकसँग भर्चुअल संवाद मार्फत बिहिवार अन्तर्राष्ट्रिय शैक्षिक तथा सांस्कृतिक अनुभव आदानप्रदान गरेका छन् ।>
क्याम्पसको नियमित शैक्षिक गतिविधिअन्तर्गत आयोजित बोर्डरलेस सेसनमा जर्जिया, भियतनाम र अफ्रिकाका प्राध्यापकसँग प्रत्यक्ष संवाद गरिएको थियो । भर्चुअल संवादमा जर्जियाको इलिया स्टेट युनिभर्सिटीका प्राध्यापक के. बी. बिबिलिरी तथा अफ्रिकाका प्राध्यापक मोलोलवाने एरिक र भियतनाम सहित विभिन्न देशका प्राध्यापक सहभागी थिए । कार्यक्रममा विद्यार्थीले शिक्षा प्रणाली, संस्कृति, भाषा, रहनसहन तथा सामाजिक अभ्यासबारे जिज्ञासा राख्दै आफ्ना अनुभवसमेत प्रस्तुत गरेका थिए । >
क्याम्पसका अंग्रेजी भाषा विषयका प्राध्यापक तथा सहजकर्ता बिबस जंग थापाले प्रविधिमार्फत हुने यस्ता अन्तरर्राष्ट्रिय संवादले विद्यार्थीको दृष्टिकोण फराकिलो बनाउनुका साथै सञ्चार सिप, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो ।>
क्याम्पसले कक्षाकोठाको सीमालाई प्रविधिमार्फत विश्वसम्म विस्तार गर्ने उद्देश्य लाई निरन्तरता दिँदै आएको जनाएको छ ।>>