>
मेरो नाम देव्यांशी थापा हो। म ९ वर्षकीे भएँ। म तासिर इङ्ंग्लिस सेकेन्डरी स्कुलमा पढ्छु । मेरो विद्यालय हेटौँडा उपमहानगरपालिका वडा नं ७ मा रहेको छ । म कक्षा ३ मा पढ्छु।>
तिहार नेपालीहरूको दोस्रो ठूलो र रमाइलो चाड हो। यसलाई दीपावली पनि भनिन्छ। यो उज्यालो, खुसी र आपसी प्रेमको पर्व हो। तिहार पाँच दिनसम्म मनाइन्छ।>
तिहारमा पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार र लक्ष्मी पूजा, चौथो दिन गोरु पूजा र पाँचौँ दिन भाइटीका मनाइन्छ।>
तिहार आउनुअघि हामी घर सफा गर्छौँ। घरलाई फूलमाला, झिलिमिली बत्ती र दियोले सजाउँछौँ। तिहारमा हामी देउसीभैलो खेल्छौँ र मिठा–मिठा परिकार खान्छौँ। मलाई सेलरोटी, मिठाई र फलफूल धेरै मन पर्छ।>
तिहारको समयमा हाम्रो विद्यालयमा पनि रमाइलो कार्यक्रम आयोजना गरिएको थियो। मैले विद्यालयमा नाचेकी थिएँ र साथीहरूसँग मिलेर देउसीभैलो पनि खेलेका थियौ । साथीहरूसँग नाच्न र रमाइलो गर्न पाउँदा मलाई धेरै खुसी लागेको थियो। शिक्षकहरूले पनि हामीलाई हौसला दिनुभएको थियो।>
तिहारको बिदामा म सर्लाहीस्थित आफ्नो घर जान्छु। त्यहाँ म साथीहरूसँग मिलेर बेलुका ८ बजेसम्म देउसीभैलो खेल्छु। साथीहरूसँग गाउँघर घुम्दै देउसीभैलो खेल्दा मलाई धेरै रमाइलो लाग्छ।>
भाइटीका तिहारको सबैभन्दा विशेष दिन हो। भाइटीकाको दिन म विबोध भाइ, आभान मामा ,स्वर्णिम, सावस्त र आर्क दाइहरुलाई सप्तरङ्गी टीका र माला लगाइदिन्छु । उनीहरूलाई टीका लगाइदिन पाउँदा मलाई धेरै खुसी लाग्छ। म उनीहरूको सुख, शान्ति र दीर्घायुको कामना गर्छु।मलाई तिहार धेरै मन पर्छ। यो चाडले हामीलाई माया, सहयोग, सद्भाव र एकताको सन्देश दिन्छ। तिहार हाम्रो संस्कृति र परम्पराको सुन्दर पर्व हो।>
>>