कात्तिक २७, हेटौँडा
शिक्षकको पेसागत मर्यादा, सिर्जनशीलता र विद्यालय सुधारका असल अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘शिक्षक बनौँ’ र ‘हामी शिक्षक’ अभियानअन्तर्गत साप्ताहिक भर्चुअल कार्यक्रम ‘शिक्षा–ककस’ सञ्चालन हुने भएको छ।>
कार्यक्रमको मूल अवधारणा ‘पाँच शिक्षक, पाँच प्रतिज्ञा’ रहेको छ। यसमार्फत शिक्षकहरूबीच कक्षाकोठाका सिर्जनशील पहल, प्रभावकारी शिक्षण अभ्यास, पेसागत मर्यादा, अनुभवको पुस्तान्तरण तथा विद्यालय सुधारमा समुदायको सहकार्यका विषयमा छलफल र अनुभव आदानप्रदान गरिने जनाइएको छ।>
कार्यक्रममा पाँच प्रमुख विषयलाई प्राथमिकतामा राखिएको छ। ती विषयमा शिक्षकका सिर्जनशील पहल, कक्षाकोठाका असल अभ्यास, पेसागत गौरव र मर्यादाको संरक्षण, नयाँ पुस्तामा शिक्षण पेसाप्रतिको आकर्षण तथा विद्यालय सुधारमा सामुदायिक साझेदारी रहेका छन्।>
कार्यक्रमले शिक्षकहरूलाई आफ्ना सफल अभ्यास, अनुभव र नवीन शैक्षिक अवधारणा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै एकअर्काबाट सिक्ने साझा मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।>
अभियानका परिकल्पनाकार डा. बासु प्रसाद सुवेदीले सम्पूर्ण शिक्षक साथीहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। इच्छुक शिक्षकहरूलाई कार्यक्रममा सहभागी हुन उपलब्ध गराइएको अनलाइन लिंकमा रहेको संक्षिप्त फारम भर्न अनुरोध गरिएको छ।>
शिक्षण पेसाको गरिमा अभिवृद्धि गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधारमा शिक्षकहरूको सामूहिक प्रयासलाई सशक्त बनाउने लक्ष्यका साथ ‘शिक्षा–ककस’ कार्यक्रम अघि बढाउन लागिएको हो। अभियान सञ्चालनबारे कात्तिक १४ गते भर्चुअल माध्यमबाट शुभारम्भ कार्यक्रम आयोजना गरिएको परिकल्पनाकार सुवेदीले बताउनुभयो।>>
उत्कृष्ट अभियान