>
कार्तिक २५, हेटौंडा >
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट सप्तरङ्गी वा पञ्चरङ्गी टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन्।>
हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको मुख्य पर्व हो। यस अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै निधारमा टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरी फूलका माला पहिर्याउने परम्परा छ।>
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ। यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने जनाइएको छ।>
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई मिठा परिकार दिने र दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा प्रदान गरी सम्मान प्रकट गर्ने चलन छ।>>