कार्तिक १४, हेटौंडा
>
शिक्षण पेसाप्रति युवापुस्ताको आकर्षण बढाउनुका साथै शिक्षकको सामाजिक प्रतिष्ठा, पेसागत क्षमता र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले ‘शिक्षक बनौँ’ अभियान र ‘हामी शिक्षक’ कार्यक्रम सञ्चालन गरिने भएको छ।>
शनिबार गुगल मिटमार्फत आयोजित शुभारम्भ कार्यक्रममा अभियानका परिकल्पनाकार तथा काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. बासुप्रसाद सुवेदीले यो मञ्च सबै शिक्षकको साझा मञ्चका रूपमा विकास गरिने बताउनुभयो।>
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्वडिन प्राध्यापक डा. बालचन्द्र लुइँटेल र गोरखापत्रका शिक्षा पत्रकार तथा ‘मुना’ बालमासिकका सहसम्पादक प्रकृति अधिकारीको उपस्थिति थियो।>
अभियानअन्तर्गत योग्य युवालाई शिक्षण पेसामा आकर्षित गर्ने, शिक्षकलाई प्रविधिमैत्री बनाउने तथा कृत्रिम बुद्धिमत्ता (एआई), नवीन शिक्षण विधि र सिकाइ रणनीतिसम्बन्धी निःशुल्क तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ।>
त्यसैगरी, शिक्षकबीच अनुभव तथा ज्ञान आदानप्रदानका लागि साझा मञ्च निर्माण, डिजिटल ‘टिचर बैंक’ स्थापना, मेन्टरसिप कार्यक्रम सञ्चालन र स्वयंसेवी सञ्जाल विकास गर्ने योजना रहेको परिकल्पनाकार सुवेदीले बताउनुभयो। उहाँका अनुसार शिक्षकको हकहित, पेसागत सुरक्षा, नेतृत्व क्षमता विकास र नीतिनिर्माणमा सहभागितालाई समेत अभियानले प्राथमिकता दिनेछ।>
अभियानलाई सहरी तथा ग्रामीण क्षेत्रका साथै संस्थागत विद्यालयसम्म विस्तार गर्ने योजना छ। शिक्षकका उत्कृष्ट अभ्यासको अभिलेखीकरण, नियमित अनुगमन र पृष्ठपोषणमार्फत विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यसमेत अभियानले राखेको छ।>
कार्यक्रममा अतिथिका रूपमा सहभागी प्राध्यापक डा. बालचन्द्र लुइँटेलले अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। अर्का अतिथि प्रकृति अधिकारीले शिक्षण पेसाप्रति युवाको विकर्षण बढिरहेको सन्दर्भमा यो अभियान प्रभावकारी र फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।>
भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा करिब २०० शिक्षकको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले पनि आआफ्नो धारणा राखेका थिए । अभियानलाई प्रभावकारी बनाउन हरेक महिना एउटा वेबिनार आयोजना गर्नुका साथै जिल्ला र प्रदेशस्तरमा समेत विस्तार गरिने परिकल्पनाकार सुवेदीले जानकारी दिनुभयो।>>