हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी–सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने सवारीसाधनमा बुधबार बेलुकादेखि टाइमकार्ड लागू गरिएको छ । >
दसैं–तिहारको चाडपर्वमा यात्रु र सवारीसाधनको चाप बढ्ने र धेरै ट्रिप गर्ने उद्देश्यले तीव्र गतिमा सवारीसाधन कुदाउने भएकाले टाइमकार्ड लागू गरिएको हो । टाइमकार्डअनुसार भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी, फाखेल, फर्पिङ र दक्षिणकालीमा सवारीसाधनका चालकले टाइमकार्ड देखाउनुपर्नेछ । टाइमकार्डअनुसार सवारीसाधन सञ्चालन नगरेमा चालकलाई कानुनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।>
चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरि करिब साढे ७ सय जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारीसाधनको चाप व्यवस्थापनका लागि विशेष सुरक्षा योजना कार्यान्वयन गर्न ७ सय २९ जना प्रहरी परिचालन गरेको हो ।>
जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट रहने गरी सुरक्षा टोली परिचालन गरिएको छ । बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध हुँदा हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढ्ने अवस्थालाई ध्यानमा राखेर राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको उनले बताए । >>