हेटौंडा, असार १३ >
विश्व हिन्दू परिषद् नेपाल, मकवानपुरले गौ तस्करी नियन्त्रण र पशुचौपायाको मानवीय ढुवानी सुनिश्चित गर्न जोडदार माग गरेको छ। परिषद्का जिल्ला अध्यक्ष शिव भट्टराईद्वारा हस्ताक्षरित पत्रमार्फत प्रशासनको ध्यानाकर्षण गराइएको हो।>
पत्रमा गाई नेपालको राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातन हिन्दू समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको विषय भएको स्मरण गराइएको छ। नेपालमा गौहत्या र गौ तस्करी कानुनद्वारा निषेधित भए तापनि व्यवहारमा यसको प्रभावकारी नियन्त्रण हुन नसकेकोमा परिषद्ले चिन्ता व्यक्त गरेको छ ।>
नेपालका विभिन्न स्थानहरूबाट हेटौंडा, धरान चतरा लगायतका मार्ग प्रयोग गरी गौवंशको अवैध ओसारपसार हुँदै बंगलादेशसम्म तस्करी हुने गरेको तथ्य सार्वजनिक भइरहँदा पनि पूर्ण नियन्त्रण हुन नसकेको पत्रमा उल्लेख छ। साथै, कान्तिराजपथ हुँदै काठमाडौंतर्फ लैजाने पशुचौपायाहरूलाई अत्यन्तै क्रूर र अमानवीय तरिकाले ढुवानी गरिने गरेको भन्दै यो प्रचलित कानुनी व्यवस्था र पशु कल्याणको दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताइएको छ।>
विश्व हिन्दू परिषद् नेपालले गौ तस्करी र अवैध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न र पशुचौपायाको मानवीय एवं कानुनसम्मत ढुवानी सुनिश्चित गर्न प्रशासन तथा सम्बन्धित सम्पूर्ण निकायसँग हार्दिक अनुरोध गरेको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन