भाद्र १०, हेटाैंडा >
रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले दुःख व्यक्त गरेको छ।>
महासंघका अध्यक्ष कृष्ण सारु मगरद्वारा भदौ १० गते जारी प्रेस विज्ञप्तिमार्फत विपद्को घडीमा प्रभावित क्षेत्रका नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्र तत्काल परिचालन गर्न तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ।>
महासंघले बाढीमा फसेकाहरूको तत्काल उद्धार, बेपत्ताको खोजी तथा घाइतेहरूको यथोचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ। साथै राहत तथा उद्धार कार्यमा सक्रियतापूर्वक जुट्न सबै सरोकारवाला पक्ष र सहयोगी मनहरूलाई आग्रह गरेको छ।>
भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले सम्बन्धित जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।>
>
महासंघले विपद्का बेला सत्यतथ्य र विश्वसनीय सूचना सम्प्रेषण गरी समाजलाई सही दिशा दिन बागमती प्रदेशभित्रका सम्पूर्ण सञ्चारमाध्यम तथा पत्रकारहरूलाई अनुरोध गरेको छ। सूचना सम्प्रेषणका क्रममा व्यक्तिगत सुरक्षा, सतर्कता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नसमेत अपिल गरिएको छ।>
>>