>
हेटौँडा, असार २९ — मकवानपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतम दक्षिण एसियाली सांसदहरूको अध्ययन भ्रमणमा सहभागी हुन सिंगापुर र इन्डोनेसिया प्रस्थान गरेका छन्।>
दक्षिण एसियाली सांसदहरूबीच अनुभव आदानप्रदान, सुशासन, संसदीय अभ्यास तथा क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अध्ययन भ्रमणमा सांसद गौतमले नेपालका तर्फबाट सहभागिता जनाएका हुन्।>
भ्रमणका क्रममा सहभागी सांसदहरूले दुवै देशका संसदीय अभ्यास, सार्वजनिक सेवा प्रवाह, सुशासन, आर्थिक विकास तथा नीति कार्यान्वयनका विषयमा अध्ययन गर्ने कार्यक्रम रहेको बताइएको छ। साथै, विभिन्न सरकारी निकाय र सम्बन्धित संस्थासँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान पनि हुने जनाइएको छ।>
अध्ययन भ्रमण सम्पन्न भएपछि प्राप्त अनुभवलाई नेपालको संसदीय अभ्यास र विकास नीतिमा उपयोग गर्ने अपेक्षा गरिएको सांसद गौतमले बताएका छन्।>>