जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालित सबै मासु व्यवसायीलाई सरसफाइ, गुणस्तर र उपभोक्ता सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।>
शुक्रबार प्रमुख जिल्ला अधिकारी तीर्थराज जोशीद्वारा जारी सूचनामा केही मासु पसलहरूले सरसफाइमा लापरबाही गरेको, स्वच्छ तथा स्वास्थ्यकर मासु बिक्री–वितरण नगरेको र सरकारले तोकेको न्यूनतम मापदण्डसमेत पालना नगरेको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएकाले यस्तो निर्देशन जारी गरिएको उल्लेख छ।>
प्रशासनले सम्बन्धित निकायबाट अनुमति तथा दर्ता लिएर मात्र व्यवसाय सञ्चालन गर्न, पशु बधशालाको उचित व्यवस्थापन गर्न, रोगी, शंकास्पद वा प्राकृतिक रूपमा मरेका पशुको मासु बिक्री नगर्न, आवश्यकताअनुसार बधपूर्व (Ante-mortem) र बधपश्चात् (Post-mortem) परीक्षण गराउन तथा मासुलाई स्वच्छ, धुलोरहित, किरारहित र प्रदूषणमुक्त वातावरणमा राख्न निर्देशन दिएको छ।>
यस्तै, मासु काट्न प्रयोग हुने टेबल, चक्कु, दाउ, खुर्पी, मेसिनलगायत उपकरण दैनिक सफा गर्न, पर्याप्त स्वच्छ पानीको व्यवस्था गर्न, फोहोर तथा रगतको उचित व्यवस्थापन गर्न, पसलमा कार्यरत व्यक्तिले एप्रोन, हेडकभर, पञ्जा र बुट अनिवार्य प्रयोग गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।>
प्रशासनले खुला घाउ वा संक्रामक रोग भएका व्यक्तिले मासु काट्ने तथा बिक्री–वितरण गर्ने कार्य नगर्न, मासु पसलभित्र धूमपान, सुर्ती, गुट्खा वा मदिरा सेवन नगर्न, मासुलाई सुरक्षित तापक्रममा राख्न, पुरानो र नयाँ मासु मिसाएर बिक्री नगर्न तथा कुहिएको, दुर्गन्धित वा रङ परिवर्तन भएको मासुको बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।>
सूचनामा उल्लिखित मापदण्ड र कानुनी व्यवस्था पालना नगरेको पाइएमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५, पशु बधशाला तथा मासु जाँच नियमावली, २०५७, उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।>
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई समेत मापदण्डविपरीत सञ्चालन भएका मासु पसलबारे जानकारी तथा सूचना उपलब्ध गराई उपभोक्ता हित संरक्षणमा सहयोग गर्न अनुरोध गरेको छ।>>