शिव कार्की >
बाढी आएपछि पानी विस्तारै घट्छ। सडकमा थुप्रिएको लेदो पन्छाइन्छ । घरका आँगन सफा गरिन्छन्। बजार फेरि खुल्छ। मानिसहरू आफ्ना दैनिक काममा फर्किन थाल्छन् । बाहिरबाट हेर्दा जीवन सामान्य बन्दै गएको जस्तो देखिन्छ। तर विद्यालयमा आएको बाढीको असर पानीसँगै बगेर जाँदैन ।>
कुनै विद्यार्थीको
किताब बगेको हुन्छ,
कसैको कापी हराएको हुन्छ। कतै डेस्क–बेन्च ढलेका हुन्छन्, कतै कम्प्युटर र प्रयोगशालाका सामग्री नष्ट भएका हुन्छन् । अझ कतिपय
बालबालिकाका लागि विद्यालय बन्द हुनु भनेको केही दिन पढाइ रोकिनु मात्र होइन;
उनीहरूको नियमित जीवन, साथीभाइ, शिक्षकसँगको सम्बन्ध र भविष्यप्रतिको आशामै एउटा अनिश्चितता थपिनु हो।
नेपालले सन् २०२६ को
मनसुनमा यसको पीडादायी उदाहरण फेरि देख्यो। अगस्ट २६ मा आएको भीषण बाढीले विशेषगरी
रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा जनजीवन र शिक्षामा ठूलो असर पुर्यायो। UNICEF को २२ सेप्टेम्बर
२०२६ को स्थिति विवरणअनुसार, उक्त बाढीले ६
जिल्लाका १७ स्थानीय तहमा अनुमानित ८४,२७० मानिसलाई प्रभावित
बनाएको थियो, जसमा ३२,०२१ बालबालिका र १,८५४ जना अपाङ्गता भएका व्यक्ति थिए।
२२ सेप्टेम्बरसम्मको सरकारी विवरणअनुसार बाढी र त्यसपछिको विपद्मा १,४५१ जनाको मृत्यु र ५,७०५ जना बेपत्ता भएका थिए। यी
प्रारम्भिक तथ्याङ्क हुन् र खोज, उद्धार तथा क्षतिको थप
मूल्याङ्कनसँगै परिवर्तन हुन सक्ने बताइएको छ।
>
विपद्को असर घर, सडक
र खेतबारीमा मात्र सीमित रहेन। ६४
वटा खानेपानी योजना क्षतिग्रस्त भए, करिब १० हजार शौचालय
पुनःस्थापना गर्नुपर्ने अवस्था आयो र स्वास्थ्य तथा शिक्षा क्षेत्रका संरचनामा पनि
ठूलो क्षति पुग्यो। बाढीका कारण धेरै परिवारको बसोबाससमेत अस्थिर बन्यो। कोही होल्डिङ
सेन्टरमा पुगे, कोही अस्थायी आश्रयस्थलमा, त कोही आफन्त वा स्थानीय समुदायको सहारामा बस्न बाध्य भए।
यस्तो अवस्थामा
सबैभन्दा संवेदनशील बन्ने क्षेत्रमध्ये शिक्षा पनि एक हो। सरकारको Rapid Damage and
Need Assessment रिपोर्टका अनुसार ३४ विद्यालयमध्ये ११ विद्यालय पूर्ण रूपमा नष्ट र १२ विद्यालय
क्षतिग्रस्त भएको देखाएको छ। यसबाट ९,४३०
विद्यार्थी र २१६ शिक्षक प्रभावित भएका छन्। मूल्याङ्कनअनुसार २६८ कक्षाकोठा, ८२
शौचालय, ३५ विद्यालयका खानेपानी प्रणाली र २० पानीका स्रोत क्षतिग्रस्त
भएका छन्। सेप्टेम्बर २२ सम्म रसुवा र नुवाकोटका सात विद्यालय तथा एउटा क्याम्पसमा
विस्थापित मानिसहरूले आश्रय लिइरहेका थिए।
यी तथ्याङ्कलाई केवल
क्षतिको सूचीका रूपमा हेर्नु पर्याप्त हुँदैन। प्रत्येक संख्याको पछाडि एउटा
परिवार छ,
एउटा विद्यार्थी छ र एउटा रोकिएको कक्षा छ। विद्यालयको भवन
क्षतिग्रस्त हुँदा इँटा, ढुंगा र छाना मात्र भत्किँदैनन्;
विद्यार्थीको नियमित पढाइ, शिक्षकको योजनाबद्ध
सिकाइ, परीक्षा तयारी र विद्यालयसँग जोडिएको सामाजिक
जीवनसमेत प्रभावित हुन्छ।
शिक्षकका रूपमा
हेर्दा यसको अर्को पाटो पनि देखिन्छ। प्राकृतिक विपत्तिपछि विद्यार्थी विद्यालय
फर्किए पनि उनीहरू पहिलेझैँ सहज अवस्थामा फर्किएका हुन्छन् भन्ने हुँदैन। कसैको
घरमा क्षति पुगेको हुन्छ,
कसैको परिवार विस्थापित भएको हुन्छ, कसैले
आफन्त गुमाएको हुन सक्छ। यस्तो अवस्थामा किताब खोलेर पाठ पढाउन सुरु गर्नु मात्र
पर्याप्त हुँदैन। विद्यार्थीलाई फेरि सुरक्षित महसुस गराउनु, उनीहरूको मनोभाव बुझ्नु र बिस्तारै सिकाइको लयमा फर्काउनु पनि शिक्षाकै
जिम्मेवारी हो।
विपद्पछि बालबालिकाको
मनोवैज्ञानिक अवस्थालाई पनि बेवास्ता गर्न मिल्दैन। UNICEF का अनुसार बाढीबाट प्रभावित १७
हजारभन्दा बढी बालबालिकालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग आवश्यक पर्ने
अनुमान गरिएको छ। त्यसैले भत्किएका संरचना बनाउनु मात्र
पुनःस्थापना होइन। डर, असुरक्षा र विस्थापनबाट गुज्रिएका
बालबालिकालाई फेरि सामान्य दिनचर्यामा फर्काउन सहयोग गर्नु पनि उत्तिकै आवश्यक छ।
यसकारण बाढीपछिको
पुनर्निर्माणलाई केवल विद्यालयको भवन बनाउने कामका रूपमा बुझ्नु हुँदैन। शिक्षा पुनःस्थापना भनेको कक्षाकोठा
उठाउनु मात्र होइन; सिकाइको निरन्तरता, सुरक्षित खानेपानी र सरसफाइ, आवश्यक शैक्षिक सामग्री,
शिक्षकको सहयोग र बालबालिकाको मनोसामाजिक अवस्थालाई पनि सँगसँगै
सम्बोधन गर्नु हो।
यस दिशामा केही
महत्वपूर्ण काम सुरु भइसकेका छन्। UNICEF को सहयोगमा धादिङ र
नुवाकोटमा ४८ वटा
अस्थायी सिकाइ केन्द्र सञ्चालनमा ल्याइएका छन्, जसबाट १,४०० भन्दा बढी बालबालिकाले सिकाइलाई
निरन्तरता दिने अवसर पाएका छन्। २,७०० भन्दा बढी
बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ। प्रभावित विद्यालयका शिक्षकलाई
सिकाइ पुनःस्थापना तथा accelerated
learning सम्बन्धी तालिमसमेत दिइएको छ। विद्यालयमै
मनोवैज्ञानिक प्राथमिक उपचारमार्फत ४२८
बालबालिकासम्म सहयोग पुर्याइएको छ।
यी प्रयासले एउटा
महत्वपूर्ण कुरा देखाउँछन्—विद्यालयको
भवन भत्किए पनि सिकाइलाई भत्किन दिनुहुदैन । अस्थायी कक्षाकोठा
हुन सक्छ,
वैकल्पिक स्थान हुन सक्छ, सीमित साधन हुन सक्छ;
तर बालबालिकाको पढ्ने अधिकार र भविष्यप्रतिको आशा रोकिनु हुँदैन।
तर तत्कालीन राहतपछि
आउने चरण अझ महत्वपूर्ण छ। सरकारको Rapid Damage and Needs Assessment ले
बाढीबाट भएको समग्र पुनःस्थापना तथा पुनर्निर्माणका लागि करिब ४.८ अर्ब अमेरिकी डलर आवश्यक
पर्ने अनुमान गरेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, आवास, जीविकोपार्जन
र विपद् जोखिम न्यूनीकरण सबै पुनर्निर्माणका महत्वपूर्ण पक्ष हुन्।
शिक्षाका लागि भने
प्रश्न केवल “विद्यालय कहिले खुल्छ?” भन्नेमा सीमित हुनु
हुँदैन। प्रश्न यो पनि हो कि अब बनाइने
विद्यालय पहिलेभन्दा सुरक्षित, समावेशी र विपद्
प्रतिरोधी कसरी बनाउने?
बाढीले हामीलाई
विद्यालय भवनको कमजोरी मात्र देखाएको छैन; हाम्रो शिक्षा प्रणाली कति
लचिलो छ भन्ने प्रश्न पनि उठाएको छ। विपद् आउँदा केही दिन विद्यालय बन्द हुनु एउटा
कुरा हो, तर त्यसको असर महिनौँसम्म विद्यार्थीको सिकाइमा
नपरोस् भनेर तयारी गर्नु अर्को कुरा हो। त्यसका लागि सुरक्षित पूर्वाधारसँगै
वैकल्पिक सिकाइ योजना, आवश्यक शैक्षिक सामग्री, प्रशिक्षित शिक्षक, मनोसामाजिक सहयोग र स्थानीय तहको
स्पष्ट कार्ययोजना आवश्यक हुन्छ।
विद्यालय भनेको चार
भित्ता,
एउटा छाना र केही डेस्क–बेन्चको नाम मात्र होइन। विद्यालय भनेको
बालबालिकाले आफ्नो भविष्यको कल्पना गर्न सिक्ने ठाउँ हो। बाढीले ती भित्ताहरू
भत्काउन सक्छ, कापी, किताब बगाउन सक्छ, कक्षाकोठा सुनसान बनाउन सक्छ; तर हामीले चाह्यौँ भने
सिकाइको उज्यालो निभ्न दिनुपर्दैन।
भवन फेरि उठ्ला। तर त्यससँगै
विद्यार्थीको रोकिएको पढाइ, हराएको आत्मविश्वास र अधुरा सपनालाई पनि
उठाउन सक्यौँ भने मात्र बाढीपछिको पुनर्निर्माण वास्तवमै सार्थक हुनेछ
>
>>