>
सरोज लामिछाने>
संकल्प – तिमी विद्यालयबाट कहाँ भ्रमण गयौ त?>
गौरव – हामी त पोखरा र लुम्बिनी गयौँ। तिमी नि? >
संकल्प – हामी यसपालि सिन्धुलीगढी गयौँ।>
यी माथिका संवाद विद्यालय तहमा अध्ययनरत दुई विद्यार्थीका हुन्। पछिल्ला वर्षहरूमा शैक्षिक भ्रमण, अवलोकन भ्रमण, पारिवारिक भ्रमण जस्ता विभिन्न नाममा देशभित्र र बाहिरका स्थानहरूमा भ्रमण हुने गरेको छ। अझ भनौँ, दसैँदेखि फागुनसम्मको समय त भ्रमणको लागि उचित समय मानिन्छ। विभिन्न सङ्घसंस्था जस्तै क्लब, टोल विकास संस्था, आमा सचेतना समूह, सहकारी, विद्यालय, वन समूहका सदस्यहरू जमघट भई भ्रमण गर्ने चलन पनि मौलाउँदै गएको छ। यस्ता भेटघाट, भ्रमणले एकआपसमा सहकार्य, मिलन र चिन्ने अवसर प्रदान गर्दछ। यसको साथै भ्रमणबाट अन्य स्थानको कला, संस्कृति, भाषा र भौगोलिक अवस्थाको बारेमा प्रत्यक्ष बुझ्न पनि सकिन्छ। एकजना मानिससँग वार्तालाप गर्नु भनेको किताब पढेको भन्दा बढी प्रभावकारी सिकाइ मानिन्छ। वास्तविक सिकाइ भनेको जीवनको प्रत्यक्ष अनुभव र भोगाइबाट हुन्छ। जीवनवारिधि विद्यावारिधिभन्दा माथि हुने धारणा छ मानिसहरूको।>
विशेषगरी विद्यार्थीहरूको सिकाइको लागि भ्रमण अति आवश्यक छ। भ्रमणलाई प्रभावकारी र अर्थपूर्ण बनाउनको लागि भ्रमणअघिको तयारी, भ्रमण अवधिको क्रियाकलाप र भ्रमणपछिको प्रस्तुतिलाई ख्याल राख्नुपर्छ। सामाजिक सञ्जालमा पनि विभिन्न विद्यालयबाट गरिएका भ्रमणको बारेमा शिक्षक तथा विद्यार्थीले लेखेका प्रतिवेदन सुन्दर रूपमा प्रस्तुत गरिएको पाइन्छ। हामीले भ्रमणलाई सिकाइसँग जोड्नको लागि भ्रमण प्रतिवेदन लेखन, दैनिकी लेखन, मनोवाद लेखनमा उत्प्रेरित गर्नुपर्छ। विद्यार्थीलाई भ्रमण अवधिमा उनीहरूका पाठ्यपुस्तकमा भएका विभिन्न विषयका विषयवस्तुसँग सम्बन्धित गराउन सकेमा एक दिनको घुमाइ पनि सार्थक हुनेछ। कति विद्यालयले विद्यार्थीलाई विषयानुसार परियोजना कार्य, निबन्ध लेखन, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणका उपाय इत्यादि तयार गर्न लगाई प्रस्तुत गर्न जागरुक गरेको पाइन्छ। अबका भ्रमण तस्बिर र विभिन्न परिकारहरू सामाजिक सञ्जालमा प्रदर्शनभन्दा सिकाइलाई नयाँ उचाइ दिनुपर्ने देखिन्छ।>
सङ्घसंस्था तथा विद्यालयले गर्ने नमुना भनिएका सङ्घसंस्थाको भ्रमणमा उक्त संस्थाका सबल पक्ष, फरक अभ्यास, सफलताका कथा, लगानी र खेप्नुपरेका चुनौतीहरू केलाई आफ्नो परिवेशसँग के कति प्रयोग गर्न सकिन्छ ख्याल राख्न सके भ्रमणको लगानी र समयको उचित प्रयोग भएको मानिन्छ। अर्कोतर्फ कुनै ठाउँ घुम्नु, वनभोज खानु भनेको आगामी दिनको लागि ऊर्जा प्राप्त गर्नुपर्ने हो। नाम चलेका संस्थाको प्रशंसामा समय खेर नफाली उनीहरूका असल अभ्यास अनुसरणमा लाग्न सके अरू सङ्घसंस्थाका प्रतिनिधि पनि तपाईंको संस्थामा पक्कै एक दिन भ्रमण गर्न आउनेमा सायद दुई मत नहोला। सपना ठूलो देखौँ र सानो र राम्रो कामको थालनी गरौँ, जसले तपाईंलाई ठूलो उपलब्धि दिलाउँछ। भ्रमणलाई मनोरञ्जनको साथै सिकाइमा जोडी भ्रमणपश्चात् सिकेका फरक अभ्यास तथा क्रियाकलापहरू पछ्याउन सके भ्रमण गरेको सार्थक हुनेछ।>>