स्थानीय समाचार बागमती प्रदेश ५ श्रावण २०८३, मङ्गलबार

जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

Nigarani Online

मकवानपुर प्रहरीले जागिर लगाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–६ निवासी २४ वर्षीय रबिन गौतमले हेटौँडा औद्योगिक क्षेत्रस्थित पार्ले–जी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले रकम उठाएको भन्ने उजुरी प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा गौतमले २०० भन्दा बढी व्यक्तिलाई जागिरको प्रलोभन देखाएर रकम असुलेको खुल्न आएको प्रहरीले जनाएको छ।

उक्त घटनामा थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट ठगी सम्बन्धी कसुरमा म्याद अनुमति प्राप्त गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले यस्ता प्रलोभनमा नपरी जागिरका नाममा रकम माग्ने व्यक्तिबाट सचेत रहन तथा यस्ता गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार