>
एक हप्ताअघि विज्ञान अध्यापन गराउने मेरो हितैषी शिक्षक मित्रले भन्दै हुनुहुन्थ्यो, "एउटा विषय शिक्षकले कति कुरा जान्नुपर्ने हो ?" उहाँ थप्दै हुनुहुन्थ्यो, "कति सिक्ने, पढ्ने र प्रयोग गर्ने ? कुनै सीमा नै छैन पढाउनका लागि।" त्यस्तै नेपाली भाषा अध्यापन गराउने मित्रले भन्दै हुनुहुन्थ्यो, "आज त म कक्षा १० मा स्वरसम्राट नारायण गोपाल बनेर गीत गाएँ।" हो, एउटा शिक्षक विषयवस्तुले मागेअनुसार कलाकार, चिकित्सक, परामर्शकर्ता, अनुसन्धानकर्ता इत्यादि बन्नुपर्छ। >
भनिन्छ, शिक्षक जन्मजात हुन्छ। शिक्षकलाई ज्ञान प्रस्तुतकर्ता, आदर्श व्यक्ति, विषयगत रूपमा दक्ष र अध्ययनशील मानिन्छ। शिक्षण झट्ट सुन्दा जति सहज र सरल देखिन्छ, गहिराइमा बुझ्दा यो कठिन पक्कै छ भन्ने कुरा यो आलेखको पहिलो हरफले पनि दर्शाउँछ। फरक क्षमता, इच्छा र पृष्ठभूमिबाट कक्षामा उपस्थित सिकारुलाई एउटै खाले विषयवस्तु सिकेर, परीक्षा उत्तीर्ण हुनुपर्ने अवस्था पनि आफैँमा कठिन छ। विद्यार्थीलाई एउटा कुशल र आदर्शवान् शिक्षक बनेर सिकाइ प्रक्रिया अगाडि बढाउन पनि साच्चै सरल छैन।>
जापानी लेखक नात्सुमे सोसेकीको कथा आई एम अ क्याट मा शिक्षकको घरमा बसेको बिरालोले शिक्षक विद्यालयबाट फर्केर घरमा आएपछि कोठाको ढोका थुनेर किताबमै र्याल काढेर निदाएको र अन्य व्यवहारको कारण "म यदि अर्को जन्ममा मान्छे बनेर जन्मन पाएँ भने मालिकको जस्तै सबैभन्दा सजिलो पेशा शिक्षक बनेर सजिलै जीवन व्यतीत गर्थेँ" भन्छ। वास्तवमा त्यो बिरालोको विश्लेषणमा देखिएको जस्तो शिक्षण सरल पक्कै छैन। शिक्षकको कक्षाको प्रस्तुति भनेको समुद्रमा देखिने आइसबर्गको टुप्पो जस्तै हो, जुन नब्बे प्रतिशत भाग अदृश्य हुन्छ र दश प्रतिशत मात्र देखिन्छ। सम्पूर्ण पूर्वतयारी अदृश्य हुन्छ र त्यही दश प्रतिशतमा रहेर शिक्षणको आलोचना गरिन्छ; त्यसैले यो प्रत्यक्ष देखिने पक्षलाई प्रभावकारी बनाउनु आवश्यक छ। >
अमेरिकी प्रेरणादायी लेखक विलियम आर्थर वार्ड भन्नुहुन्छ, "सामान्य शिक्षकले भन्छ, असल शिक्षकले व्याख्या गर्छ, उच्चतम् शिक्षकले प्रदर्शन गर्छ र उत्कृष्ट शिक्षकले प्रेरणा दिन्छ।" यसबाट के स्पष्ट हुन्छ भने विद्यार्थीमा विभिन्नता भए जस्तै शिक्षकमा पनि विविधता छ। >
आफ्नो विद्यालय समयबाहेक पनि समुदायमा शिक्षकको बानी, व्यवहार र बोलीचालीमा सबैको ध्यान जाने गरेको छ। सफल शिक्षक हुन विषयवस्तुको राम्रो ज्ञान भएर मात्र पुग्दैन, सो ज्ञानलाई विद्यार्थीको व्यक्तिगत विभिन्नता, रुचि र विविधताअनुरूप प्रभावकारी सामग्री र प्रविधिको उच्चतम् प्रयोग गरी क्रियाकलाप र परियोजना विधिलाई केन्द्रमा राखी सहजीकरण गर्नु आवश्यक छ। बालक भनेको काँचो माटो नभई सम्भावनाको खानी हो। एकोहोरो प्रवचन सुन्न जोकोहीलाई पनि गाह्रो हुन्छ। मनोवैज्ञानिकका अनुसार बालबालिका त प्रत्येक दश-पन्ध्र मिनेटमा नयाँपन खोज्ने हुन्छन्। शिक्षण सिकाइका लागि शिक्षकलाई आफ्नो विषयको निश्चित तहको अध्ययनका अलावा समयानुकूल परिवर्तित पाठ्यक्रम, विधि र प्रविधिमा अद्यावधिक हुनुपर्छ। मिश्र र कोह्लर (२००६) का अनुसार शिक्षणमा तीन क्षेत्रको ज्ञान आवश्यक छ, जसमा प्राविधिक, शैक्षणिक विधि र विषयगत ज्ञान (टिप्याक मोडल) पर्दछन्।>
प्रसिद्ध अमेरिकी दार्शनिक जोन डिवेको एउटा भनाइ छ– "यदि हामीले हिजो पढाएको जसरी आज पढायौँ भने हामी भोलिका बालकलाई लुट्नेछौँ।" हिजो ज्ञानको स्रोतका रूपमा शिक्षकलाई मात्र लिइन्थ्यो तर आज प्रविधिका कारण विश्व खुम्चिएको छ। शिक्षक गुरुबाट शिक्षक, सहजकर्ता हुँदै कार्यक्रम प्रस्तुतकर्ता बन्दै गएको छ। बालमनोविज्ञानको ज्ञान, विषयको प्रस्तुति रसिक बनाउन कथा, कविता, चुटकिला, सङ्गीत, सामान्यज्ञान, योग र पाठ्यपुस्तकका विषयलाई स्पष्ट पार्ने सन्दर्भले सिकाइ जीवन्त बनाउने उत्प्रेरक ठानिन्छ। शिक्षकबाट यति धेरै गरिरहँदा उसले एउटा असल विद्यार्थी र सचेत अभिभावकको परिकल्पना गर्ने कि नगर्ने ? >
असल विद्यार्थी भन्नाले विद्यालय पोशाकमा नियमित विद्यालयमा आवश्यक सामग्रीसहित उपस्थित भई कक्षा क्रियाकलाप तथा अन्तरक्रियामा पूर्ण सहभागिता जनाउने भन्ने हो। त्यस्तै सचेत अभिभावक भन्नाले विद्यालय तथा आफ्नो छोराछोरीको सिकाइका बारेमा जानकारी लिने, उनीहरूको हरेक गतिविधिको निगरानी राख्ने र समय-समयमा विद्यालयमा उपस्थित भई सिकाइको पृष्ठपोषण लिने हो। शिक्षणमा त्रिपक्षीय सम्बन्ध हुनुपर्दछ। वर्तमान पाठ्यक्रमले आन्तरिक मूल्याङ्कन, परियोजना कार्य तयारी, अभिलेखीकरण, सञ्चयिका तयारी, सहभागिता लगायत विद्यार्थीको व्यावहारिक पक्षलाई बाह्य मूल्याङ्कनभन्दा बढी स्थान दिएकाले यी क्रियाकलापहरु कुशल ढङ्गबाट सम्पन्न गर्न निकै मिहिनेतको खाँचो पर्दछ। >
आफ्नो पेशागत विकासका लागि विभिन्न रणनीतिहरू जस्तै कार्यशाला, सेमिनार, बैठक, कार्यमूलक अनुसन्धान, कार्ययोजना लगायत अन्य क्रियाकलापमा पनि तल्लीन हुनुपर्दछ। शिक्षक सक्रिय हुनुपर्छ भनेर आवाज उठिरहँदा विद्यार्थी पनि असल सिकारु बन्न के-कस्ता कुरा पूरा गर्नुपर्ने, के-कस्ता आचारसंहिता पालन गर्नुपर्ने भनेर चिन्ता र चासो कमै उठेको भेटिन्छ। विद्यार्थीले पनि कक्षाकोठाको शिक्षण सिकाइ प्रभावकारी बनाउन शिक्षकसँग सहकार्य गरी उचित सिकाइको वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नु आवश्यक छ। "शिक्षक भनेको भित्ता हो जसले अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर केही नबोली सहनुपर्छ" भन्ने मान्यता राख्नेहरूको अब त्यस्तो सोचमा न्यूनीकरण हुँदैजानुपर्छ। सबै पक्ष सकारात्मक सोचका साथ शिक्षकको मनोबल उच्च बनाई आ-आफ्नो कमजोरीलाई सुधार गर्न सके मात्र सिकाइ निरन्तर चलिरहन्छ। जो विद्यार्थी बन्न सक्दैन, ऊ कुशल अध्यापक बन्न सक्दैन। शिक्षक एउटा शिक्षार्थी नै हो।>>
समय सान्दर्भिक !