मकवानपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले साउन महिनाभित्रै मकवानपुरका दलित तथा भूमिहीन सुकुमबासीलाई पहिलो चरणमा लालपुर्जा वितरण प्रक्रिया सुरु गरिने बताएका छन्।>
हेटौंडा–११ को सिमलटारमा आयोजित ‘जनतासँग प्रत्यक्ष संवाद’ कार्यक्रममा बोल्दै सांसद उप्रेतीले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गरे। उनले आफू पनि लालपुर्जा नभएको अव्यवस्थित बसोबासी भएको स्मरण गराउँदै नागरिकको पीडा आफूले नजिकबाट बुझेको बताए।>
उप्रेतीले निर्वाचनअघि जनतासमक्ष गरेका प्रतिबद्धताबाट ‘एक इन्च पनि पछि नहट्ने’ स्पष्ट गर्दै लालपुर्जा वितरणको कामलाई व्यवहारमै कार्यान्वयन गरिने विश्वास व्यक्त गरे। उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको र पहिलो चरणको वितरण कार्य साउनभित्रै सुरु हुने जानकारी दिए।>
कार्यक्रममा स्थानीय बासिन्दाले भूमि व्यवस्थापन, पूर्वाधार विकास तथा अन्य जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा आफ्ना जिज्ञासा र सुझाव राखेका थिए। सांसद उप्रेतीले उठाइएका विषयलाई क्रमशः सम्बोधन गर्दै जनतासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।>>