>
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र सार्वजनिक यातायात क्षेत्रमा देखिएका बहुआयामिक समस्याहरूको समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।>
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग भएको भेटघाटमा मुख्यमन्त्री बानियाँले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र सेवामुखी बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो।>
भेटका क्रममा महासंघका अध्यक्ष सिटौलाले विशेषगरी बागमती प्रदेश, खासगरी काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम, सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदान गरिने क्षतिपूर्ति तथा दुर्घटनामा घाइते हुनेहरूको उपचारका क्रममा देखिएका व्यावहारिक कठिनाइबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।>
उहाँले ती समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले आवश्यक समन्वय, सहजीकरण र नीतिगत पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।>
मुख्यमन्त्री बानियाँले यातायात व्यवसायीले उठाएका विषयहरू गम्भीर रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरी सार्वजनिक यातायात क्षेत्रका समस्या समाधानतर्फ प्रदेश सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।>>