असोज ३१, हेटौंडा >
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँको सातौँ दिन आज शनिबार देशभर फूलपाती पर्व मनाइँदै छ। फूलपातीका अवसरमा घरघरमा शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याएर दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा रहेको छ। >
घटस्थापनाका दिनदेखि सुरु भएको नवरात्रमा आज देवी दुर्गाको सातौँ स्वरूप माता कालरात्रिको पूजा गरिन्छ। यस दिन घरको पूजाकोठा तथा दसैँघरमा विभिन्न फूल, पात, फलफूल र नौ प्रकारका वनस्पति भित्र्याउने धार्मिक प्रचलन छ।हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा पनि फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ।>
नवदुर्गाका नौ स्वरूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री पर्दछन्। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष पूजा–आराधना गरिन्छ। दसैँको अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ। यस पर्वले पारिवारिक एकता, आपसी सद्भाव र सामाजिक मेलमिलापलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ ।>
फूलपातीका अवसरमा गोरखा दरबारबाट काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा फूलपाती ल्याउने ऐतिहासिक परम्परा छ। यसै अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा फूलपाती बढाइँसमेत गरिन्छ।>>