>
हेटौंडा । बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई प्रभावकारी र सहज बनाउन सरकारी अस्पतालहरूमा ट्रमा सेवा विस्तार गर्ने, ट्रमा सेन्टरहरूको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यक कानुनी र नीतिगत व्यवस्था अघि बढाउने प्रतिबद्धता जनाएको छ।>
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो।>
उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको उपचारलाई सहज बनाउने तथा सम्बन्धित निकाय र यातायात व्यवसायीसँग समन्वय गरेर आवश्यक सुधारका काम अघि बढाइनेछ। दुर्घटनापछि घाइतेले सरकारी अस्पतालमै प्राथमिक उपचार सहज रूपमा पाउने वातावरण बनाउन आवश्यक कानुनी र नीतिगत पहल गरिने पनि मुख्यमन्त्री बानियाँले स्पष्ट पार्नुभयो।>
भेटका क्रममा महासङ्घले विशेषगरी काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम, दुर्घटनापछिको उपचार प्रक्रिया र क्षतिपूर्ति वितरणसँग सम्बन्धित समस्याप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो।>
महासङ्घका अध्यक्ष सिटौलाले विद्यमान बिमा व्यवस्थाअनुसार घाइतेको उपचार खर्च अधिकतम तीन लाख रुपैयाँसम्म मात्र उपलब्ध हुने भएकाले महँगा निजी अस्पतालमा उपचार गराउँदा पीडित र यातायात व्यवसायी दुवै आर्थिक भारमा पर्ने अवस्था रहेको बताउनुभयो। उहाँले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, दुर्घटनापछिको उपचार प्रणाली सुधार गर्ने तथा क्षतिपूर्ति वितरण प्रक्रियालाई समयानुकूल र व्यवहारिक बनाउन प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिनुभयो।>
सार्वजनिक यातायातलाई आधुनिक र प्रविधिमैत्री बनाउन सबै सवारीसाधनमा जीपीएस प्रणाली, सिसी क्यामेरा तथा अनलाइन टिकटिङ व्यवस्था लागू गर्ने र यात्रुले तोकिएको स्थानबाट अनिवार्य रूपमा टिकट लिएर यात्रा गर्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी वातावरण तयार गर्न पनि महासङ्घले आग्रह गरेको छ।>
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सङ्घीय राजधानी रहेको र देशका ६० प्रतिशतभन्दा बढी सवारीसाधनको चाप यही प्रदेशमा रहने भएकाले ट्राफिक व्यवस्थापन सुधार, दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर सक्रिय रहने बताउनुभयो।>
यातायात व्यवसायीहरूले ट्राफिक व्यवस्थापन, दुर्घटनापछिको उपचार प्रणाली तथा क्षतिपूर्ति वितरण प्रक्रियामा सुधार भए सार्वजनिक यातायात सेवा अझ सुरक्षित, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।>>