>
हेटौंडा । रसुवामा आएको भीषण बाढीपछि हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्ने १२ जना सम्पर्कविहीन भएको जनाइएको छ। उनीहरू विभिन्न कामको सिलसिलामा रसुवा पुगेका बेला बाढीपछि सम्पर्कविहीन भएको बताइएको हो।>
हेटौंडा उपमहानगरपालिकाले टेलिफोनबाट प्राप्त सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक गर्दै उनीहरूका परिवार, आफन्त तथा चिनजानका व्यक्तिलाई खोजी तथा सम्पर्कका लागि सहयोग गरिदिन आग्रह गरेको छ।>
सार्वजनिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा कृष्ण डंगोल, भगवानन्द अधिकारी महिज, जयन्त थापा, प्रदीप सापकोटा, निरज श्रेष्ठ, विकास घिमिरे, उमेश लोचन, सुन्दर भोने, अविशेक बर्तौला, उमेश रानामगर, सुन्दर गोंगले, बुद्धिबहादुर गुरुङ, अशोक स्याङ्तान, मिलन बर्तेन, विवेक गुरुङ, रमेश मगर, उद्धव थापा, बुद्ध रत्न थानामान र सूर्यबहादुर थान लगायतका नाम उल्लेख गरिएको छ। सूचनाको विवरणमा कतिपय व्यक्तिको नाम तथा ठेगाना समूहगत रूपमा उल्लेख गरिएको छ।>
उनीहरू हेटौंडा उपमहानगरपालिकाका वडा नं. २, ४, ६, ८, ११, १२, १३ र १५ लगायतका क्षेत्रमा बसोबास गर्ने रहेको सूचनामा उल्लेख छ। केही व्यक्तिको ठेगाना तथा विवरण भने खुल्न बाँकी रहेको जनाइएको छ।>
वडा तथा नगर क्षेत्रमा बसोबास गर्ने यी व्यक्तिमध्ये कोही सम्पर्कमा आएमा वा उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित परिवारलाई जानकारी गराउन तथा उपमहानगरपालिकाले उपलब्ध गराएको सम्पर्क नम्बर ९८४४०२८२२२ मा जानकारी गराउन आग्रह गरिएको छ।>
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो क्षति भएपछि विभिन्न जिल्लाबाट रसुवा पुगेका नागरिकको अवस्थाबारे खोजी तथा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ।>>