हेटौँडाका निजी अस्पतालको अनुगमन

Nigarani Online
सेवा सुधारमा उपमहानगरको जोड

हेटौँडा उपमहानगरपालिकाले स्वीकृति लिएर सञ्चालनमा रहेका निजी अस्पतालहरूको सेवा, पूर्वाधार तथा प्रयोगशाला (ल्याब) सेवाको अनुगमन गरेको छ।

नगर प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा भएको अनुगमन टोलीले हेटौँडा–६ स्थित सिद्धस्थली कम्युनिटी अस्पताल, हेटौँडा–२ स्थित निको अस्पताल र हेटौँडा–१ स्थित हेटौँडा सिटी अस्पतालको निरीक्षण तथा व्यवस्थापन पक्षसँग छलफल गरेको हो।

अनुगमनका क्रममा समुदायको समेत लगानीमा सञ्चालन भइरहेको सिद्धस्थली कम्युनिटी अस्पताल पूर्वाधार तथा स्वास्थ्य उपकरणका हिसाबले उत्कृष्ट रहेको पाइएको नगर प्रमुख लामाले बताइन्। बजार क्षेत्रभन्दा केही टाढा रहे पनि नगरमा स्थापना भएको उक्त अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न उपमहानगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

उक्त अस्पतालले ओपीडी (बहिरङ्ग सेवा), आकस्मिक (इमर्जेन्सी), सामान्य चिकित्सा, स्त्री तथा प्रसूति सेवा, बालरोग सेवा, प्रयोगशाला (ल्याब), एक्स–रे तथा अल्ट्रासाउन्डलगायतका सेवा प्रदान गर्दै आएको भए पनि केही दिनयता सेवा बन्द रहेको जानकारीपछि अनुगमन टोली अस्पताल पुगेर आवश्यक जानकारी लिएको जनाएको छ।

अनुगमनका क्रममा अस्पतालहरूले सञ्चालन गरिरहेका प्रयोगशाला सेवाको गुणस्तर, सञ्चालन अवस्था तथा मापदण्ड पालनाको अवस्थाबारे विशेष रूपमा अध्ययन गरिएको थियो।

अनुगमनमा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, कानुन अधिकृत लक्ष्मण मैनालीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार