मकवानपुरको बाघझोरा खहरे खोलामा पुल निर्माणका लागि विनियोजन भएको १० करोड रुपैयाँ बजेटलाई लिएर श्रेयको राजनीति भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आपत्ति जनाइएको छ । >
रास्वपा मकवानपुरका सचिव बिशभ अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाउनुभएको हो । सार्वजनिक धारणा अनुसार, बाघझोरा पुल निर्माणका लागि विगतमा पूर्वप्रतिनिधिसभा सदस्य महेश बर्तौलाले पहल गरेको विषयलाई अस्वीकार नगरिए पनि उहाँको कार्यकालमा बजेट विनियोजन हुन नसकेको दाबी गरिएको छ।>
उक्त धारणा अनुसार, चालु आर्थिक वर्षमा पुल निर्माणका लागि १० करोड रुपैयाँ बजेट वर्तमान सरकारको समयमा प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीको निरन्तर पहल, समन्वय र सहजीकरणबाट सुनिश्चित भएको उल्लेख गरिएको छ। त्यसैले विगतमा विषय उठाएको आधारमा वर्तमान बजेटलाई आफ्नो उपलब्धिका रूपमा प्रचार गरेर जनतालाई भ्रममा पार्ने प्रयास उचित नभएको अधिकारीको दाबी छ ।>
धारणामा जनताले अब आश्वासनभन्दा पनि बजेट कहिले विनियोजन भयो, कसको पहलमा आयो र काम अघि बढ्यो कि बढेन भन्ने तथ्यलाई हेर्न थालेको उल्लेख गर्दै पुल निर्माणको श्रेयभन्दा पनि काम सम्पन्न हुनु नै मुख्य विषय भएको जनाइएको छ।>
साथै, सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी दीर्घकालीन र भरपर्दो पुल निर्माण गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। बाघझोरामा सामान्य वर्षा हुँदा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिन नदिन गुणस्तरीय पुल निर्माणमा जोड दिइएको छ।>
सचिव अधिकारीले विगतमा पहल भएको तर बजेट विनियोजन नभएको र अहिले बजेट विनियोजन भई ठेक्का प्रक्रिया अघि बढिसकेको दाबी गर्दै तथ्यका आधारमा मूल्याङ्कन गर्न जनतासमक्ष आग्रह गर्नुभएको छ ।>
>>