मकवानपुरका विपन्न, पिछडिएका तथा आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन कठिनाइ भोगिरहेका विद्यार्थीलाई लक्षित गर्दै एस्थर बेन्जामिन संस्थाले यस वर्ष पनि शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ। संस्थाले जिल्लाका करिब ११०० विद्यार्थीलाई विद्यालय झोला (व्याग), कपी, कलम, विद्यालय पोषाकलगायतका आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने अभियान अघि बढाएको हो।>
संस्थाले हरेक वर्ष यस्ता विद्यार्थीलाई सहयोग गर्दै आएको छ। यस अभियानअन्तर्गत हिजो हेटौंडा उपमहानगरपालिका–९ स्थित प्रगति माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। त्यसैगरी आज हेटौंडा–१३ स्थित युगचेतना नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई पनि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।>
एस्थर बेन्जामिन संस्थाका प्रतिनिधिले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका छन्। विद्यालयका शिक्षक तथा अभिभावकले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई नियमित अध्ययनमा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।>
संस्थाले आगामी दिनमा पनि मकवानपुरका विभिन्न विद्यालयमा पुगेर आवश्यकताका आधारमा शैक्षिक सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।>>