हेटौँडा अस्पतालमा कम्मरको नसा च्यापिने समस्याबाट पीडित बिरामीको सुईमार्फत उपचार सफलतापूर्वक गरिएको छ।>
अस्पतालका न्युरोसर्जन डा. विक्रमादित्य प्रसाद साहको नेतृत्वमा एक्सरे (फ्लोरोस्कोपी) को सहायताबाट प्रभावित नसाको वरिपरि दुखाइ कम गर्ने औषधि पुर्याई उपचार गरिएको हो। उक्त विधिबाट बिरामीको दुखाइ कम गर्न तथा शल्यक्रियाको आवश्यकता नपरी उपचारमा सकारात्मक परिणाम प्राप्त भएको अस्पतालले जनाएको छ।>
यस प्रकारको उपचारमा एक्सरेको सहायताले प्रभावित स्थान पहिचान गरी सुईमार्फत औषधि ठीक स्थानमा पुर्याइने भएकाले उपचार थप सुरक्षित र प्रभावकारी हुने चिकित्सकहरूको भनाइ छ।>
हेटौँडा अस्पतालमा यो सेवा उपलब्ध भएपछि कम्मरको नसा च्यापिने समस्याबाट पीडित बिरामीले अब यहीँ विशेषज्ञ सेवा लिन सक्ने भएका छन्। अस्पतालले आगामी दिनमा पनि आधुनिक प्रविधिमा आधारित विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै लैजाने जनाएको छ।>>