>
हेटौंडा उपमहानगरपालिकाले सहरलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यसहित “जिरो वेस्ट हेटौंडा” अभियानको सुरुवात गरेको छ। टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा सञ्चालन हुने यस अभियानले फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने, वातावरण संरक्षण गर्ने र नागरिकमा सरसफाइप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।>
अभियानअन्तर्गत टोल–टोलमा सरसफाइ, सार्वजनिक स्थलहरूको सफाइ, फोहोरको उचित व्यवस्थापन, वृक्षारोपण तथा हरियाली प्रवर्द्धनजस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै, समुदायमा जनचेतना फैलाउने, स्वयंसेवक परिचालन गर्ने तथा सरसफाइलाई दैनिक जीवनको व्यवहारमा समावेश गराउने पहल गरिनेछ।>
समितिका अनुसार “जिरो वेस्ट हेटौंडा” अभियान केवल एकदिने कार्यक्रम नभई दीर्घकालीन सोच र जीवनशैली परिवर्तनसँग जोडिएको अभियान हो। यस अभियानमार्फत हेटौंडाका प्रत्येक घर, टोल र समुदायलाई सफा र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।>
यसै सन्दर्भमा, आगामी साउन २३ गते शनिबार हेटौंडा उपमहानगरपालिका भित्रका सबै टोल विकास संस्थाहरूलाई आफ्ना क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। अभियानलाई सफल बनाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको समितिले जनाएको छ।>>