>
भाद्र ७, हेटौंडा >
कवि तथा समालोचक प्रा.डा. देवी नेपालको एकल कविता वाचन कार्यक्रम शनिबार हेटौँडामा सम्पन्न भएको छ। नेपाली भाषा शिक्षक समिति, मकवानपुरको आयोजनामा मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा भएको कार्यक्रममा कवि नेपालले आफ्ना समसामयिक तथा विचारप्रधान रचनाहरू प्रस्तुत गरेका हुन्।>
कार्यक्रममा उनले ‘शब्दचित्रमा म’, ‘गुरु’, ‘परिवर्तन’, ‘अहङ्कारको आयु’, ‘आशङ्का’, ‘बुद्धको देश’, ‘सन्त्रास’, ‘छोरीलाई आह्वान’, ‘प्रश्न : नयाँ नेपालको’, ‘म गिर्न दिन्नँ गौरव’, ‘देश हार्दै छ आज’ र ‘देशचिन्तन’ गरी १२ कविता सस्वर वाचन गरे। श्रोताको विशेष आग्रहपछि उनले ‘मलाई सूर्यले लाली छरेको देश चाहिन्छ’ गजलसमेत प्रस्तुत गरेका थिए।>
कवि नेपालको वाचनका क्रममा सुनिल गौतम, विधान स्पर्श र स्वस्तिका दाहालले पनि एक–एक कविता सुनाउँदै साथ दिएका थिए। कार्यक्रममा हेटौँडाका अग्रज साहित्यकार, शिक्षक, विद्यार्थी तथा विभिन्न पुस्ताका स्रष्टाहरूको उल्लेख्य सहभागिता थियो।>
कार्यक्रमको सुरुवातमा स्रष्टा दीपक गौतमले कवि नेपालको जीवन, साहित्यिक व्यक्तित्व र कृतित्वबारे परिचयात्मक मन्तव्य राखेका थिए। वाचित कवितामाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक डा. घनश्याम घिमिरेले उनका रचनामा समसामयिक चेतना, भावगत विविधता, विचारको प्रखरता र कलात्मक उचाइ देखिने बताए। कविता वाचनले ती रचनालाई अझ प्रभावकारी र जीवन्त बनाएको उनको धारणा थियो।>
नेपाली भाषा शिक्षक समिति मकवानपुरका अध्यक्ष ज्योति न्योपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विषय समिति, मकवानपुरका अध्यक्ष भोगेन्द्र लुइटेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम समितिका सचिव डी.बी. बर्तौलाले सञ्चालन गरेका थिए।>
कार्यक्रममा आरसी रिजाल, हयग्रीव आचार्य, तुलसी घिमिरे, जनार्दन खनाल, विष्णुप्रसाद गौतम, केशव सञ्जेल, माधव पोखरेल, डा. अर्पण पराजुली, राजकुमार लामिछाने, डा. विश्वनाथ सञ्जेल, देवराज तिवारी, केशव समर्पण, इन्द्र नेपाल, सन्जित श्रेष्ठ, बबी थापा, हरि पौडेल, सानु खनाल, प्रेम बमजम, कृतिका लौडारी, कोपिल पौडेल र रोज कार्कीलगायत साहित्य क्षेत्रका विभिन्न पुस्ताका स्रष्टाहरूको उपस्थिति थियो।>>