सन् २०१० पछि पहिलोपटक विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको स्पेनले शुक्रबार अमेरिकाको लस एन्जलसमा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्दै छ।>
आयोजक राष्ट्र अमेरिकाको चुनौती समाप्त गर्दै अन्तिम आठमा पुगेको बेल्जियम र उपाधि दाबेदार पोर्चुगललाई हराएर क्वाटरफाइनल पुगेको स्पेनबिचको खेल बहुप्रतिक्षित रहेको छ।>
सुरुआती खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेन त्यसपछि प्रत्येक खेलसँगै थप लयमा देखिएको छ। बलमा नियन्त्रण कायम राख्ने शैली, अनुशासित रक्षापंक्ति र प्रभावकारी खेलका कारण स्पेनलाई उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको छ।>
स्पेनले सोमबार पोर्चुगललाई १-० ले हराउँदा विश्वकप इतिहासमै लगातार छ खेलमा गोल नखाने पहिलो टोली बन्ने कीर्तिमान पनि बनाएको थियो। उक्त खेलसँगै क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने अन्तिम सपना पनि समाप्त भएको थियो। यता, बेल्जियमको नकआउट यात्रा भने उतारचढावपूर्ण रह्यो।>
अतिरिक्त समयमा संघर्षपूर्ण जित र त्यसपछि अमेरिकामाथिको प्रभावशाली विजयपछि टोलीको आत्मविश्वास निकै बढेको छ।>
अब युरोपेली च्याम्पियन स्पेनलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा बेल्जियम मैदान उत्रिने छ।>
क्वार्टरफाइनलसम्मको यात्रा स्पेन समूह ‘एच’ को विजेता बन्दै सात अंकसहित नकआउट चरणमा पुगेको थियो।>
उसले साउदी अरेबिया र उरुग्वेलाई पराजित गर्दा केप भर्डेसँग बराबरी खेलेको थियो। त्यसपछि अन्तिम ३२ मा अस्ट्रियालाई ३-० ले हरायो भने अन्तिम १६ मा पोर्चुगललाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो।>
बेल्जियम भने समूह ‘जी’ को शीर्ष स्थानमा रहँदै पाँच अंकका साथ अगाडि बढ्यो।>
उसले न्युजिल्यान्डलाई हरायो भने इरान र इजिप्टसँग बराबरी खेल्यो। अन्तिम ३२ मा सेनेगललाई अतिरिक्त समयमा ३-२ ले हराएको बेल्जियमले अन्तिम १६ मा अमेरिकालाई ४-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।>
फिफा वरीयतामा स्पेन तेस्रो र बेल्जियम आठौं स्थानमा रहेका छन्। तर सटिक पास र उत्कृष्ट लयका लागि स्पेनलाइ निकै मजबुत मानिन्छ। अर्को तर्फ लङरेन्ज सट र जुनसुकै बेला नतिजा आफ्नो पक्षमा पार्ने क्षमता बेल्जियममा भएकाले दुबैका लागि यो खेल निकै प्रतिस्पर्धात्मक र दुई फिफा उच्च वरियताका टोलीको भिडन्तका रुपमा हेरिएको छ।>
सन् २०१० को विश्व च्याम्पियन स्पेन लगातार ३५ खेलदेखि अपराजित छ। प्रशिक्षक लुइस दे ला फुएन्तेको नेतृत्वमा टोलीले युरोपेली च्याम्पियनबाट विश्वकप उपाधिको बलियो दाबेदारका रूपमा आफूलाई स्थापित गरेको छ।>
बेल्जियमले भने पछिल्ला ठूला प्रतियोगितामा अपेक्षाअनुसार सफल हुन सकेको छैन। सन् २०२२ को विश्वकपमा समूह चरणबाट बाहिरिएको टोली युरो २०२४ मा अन्तिम १६ बाटै बाहिरिएको थियो। तर गोलकिपर थिबाउ कोर्टुवाले यसपटक इतिहास बदल्न सकिने विश्वास व्यक्त गरेका छन्।>
‘हाम्रो टोलीका सबै खेलाडीलाई यो सम्भव छ भन्ने विश्वास छ। हामीसँग यस्ता गुणस्तरीय खेलाडी छन्, जसलाई स्पेनले पनि गम्भीर रूपमा लिनुपर्ने हुन्छ,’ कोर्टुवाले भने।>
उनले थपे, ‘विश्वकपमा सधैं अप्रत्याशित नतिजा आउँछन्। युरोपेली च्याम्पियनलाई हराउन सके त्यो ठूलो उपलब्धि हुनेछ। हाम्रो आत्मविश्वास निकै बढेको छ।’>
बेल्जियमका लागि यो विश्वकप केभिन डी ब्रुयने र रोमेलु लुकाकु नेतृत्वको ‘गोल्डेन जेनेरेशन’ को अन्तिम विश्वकप हुने सम्भावना छ।>
लुकाकुले प्रतियोगितामा तीन गोल गरेका छन् भने लियान्द्रो ट्रोसार्डले दुई गोल र दुई असिस्ट गरेका छन्। चार्ल्स डे केटेलारे र युरी टिलेमान्सले पनि समान दुई–दुई गोल गरेका छन्।>>