मकवानपुर जिल्लाको बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सिमानामा अवस्थित लटारम्मेश्वर महादेव धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित बन्दै गएको छ। डब्लु डाँडाबाट नाम परिचित यस क्षेत्रले प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको आकर्षण पनि बोकेको छ।>
बकैया गाउँपालिका–१२ को ठिंगन तथा भीमफेदी गाउँपालिका–८ को ईपा नजिकबाट करिब तीन घण्टाको पैदल यात्रापछि लटारम्मेश्वर महादेवको परिसर पुग्न सकिन्छ। समुद्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको डब्लु डाँडामा अवस्थित यो स्थल हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ।>
घना वन, हरियाली डाँडा, स्वच्छ वातावरण र हिमाली दृश्यावलोकनले लटारम्मेश्वर क्षेत्रलाई थप आकर्षक बनाएको छ। धार्मिक दर्शनका साथै पदयात्रा, प्रकृति अवलोकन र आन्तरिक पर्यटनका लागि समेत यो स्थान उपयुक्त गन्तव्य बन्दै गएको स्थानीयवासी बताउँछन्।>
स्थानीय तहले आवश्यक पूर्वाधार विकास, पदमार्ग व्यवस्थापन र प्रचारप्रसारमा ध्यान दिएमा लटारम्मेश्वर महादेव मकवानपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ। हाल पनि विभिन्न ठाउँबाट भक्तजन तथा आन्तरिक पर्यटकहरू यहाँ पुग्ने क्रम बढ्दो रहेको स्थानीयको भनाइ छ।>>