चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा *नेपाल चिकित्सक संघ*ले आज मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ।>
संघको आह्वानअनुसार *हेटौंडा अस्पताल सहित देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आज ओपीडी, नियमित शल्यक्रिया र अन्य सेवा बन्द* रहेका छन्। आकस्मिक, प्रसूति र डायलासिस जस्ता अत्यावश्यक सेवा भने सञ्चालनमा छन्।>
साउन ९ गते वीरगञ्जस्थित *नारायणी अस्पताल*मा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडप्रति संघले गम्भीर आपत्ति जनाएको छ।>
आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि घाइते भएका थिए। घटनामा संलग्नलाई *स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार कडा कारबाही गर्न संघले माग गरेको छ।>
साथै घटनालाई नियन्त्रण गर्न नसकेको भन्दै *पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई कारबाही* गर्न समेत संघले सरकारसँग माग गरेको छ।>
संघले दोषीमाथि कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ।>>