>
हेटौँडा, असार २८ आदिकवि भानुभक्त आचार्यको २१३औँ जयन्तीको अवसरमा साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजना तथा जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा माल्यार्पण, जिल्लास्तरीय खुला कविता प्रतियोगिता अाइतबार सम्पन्न भएको हो।>
कार्यक्रम विद्यालय प्राङ्गणमा रहेको भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै सुरु गरिएको थियो। त्यसपछि आयोजित कविता प्रतियोगितामा जिल्लाभरबाट छनौट भएका माध्यमिक तहका १६ जना विद्यार्थीहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।>
निर्णायक मण्डलका भावना सापकोटा र सानु खनालको मूल्याङ्कनका आधारमा हेटौँडा एकेडेमीका छात्र रोज कार्की प्रथम, बालजागृतिकी छात्रा प्रिन्सा थापा द्वितीय र जनप्रिय माविकी छात्रा शिक्षा गौतम तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद रु. २०००, रुं. १५०० र रु. १००० र सान्त्वना हुने दुई जनालाई जनही रु. ५०० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । >
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा वडा नं. १६ की सदस्य सङ्गीता बिश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटी र प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले शुभकामना मन्तव्य राखेका थिए।>
सहायक प्रधानाध्यापक रामआशिष मण्डलसहित साहित्यकारहरू निमेष निखिल, राजकुमार लामिछाने र पुरुषोत्तम आचार्यको विशेष उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव रजनी पौडेलले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई विद्यालयको तर्फबाट ‘जनप्रिय दर्पण’ लगायतका पुस्तकहरू उपहार स्वरूप प्रदान गरिएको थियो।>>