पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा सहुलियत

Nigarani Online

 बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारहरूलाई सरकारी अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिँदा विभिन्न सेवामा सहुलियत प्रदान गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशले २०८३ साउन ५ गते प्रादेशिक अस्पताल (१३ वटै) लाई पठाएको पत्रमार्फत नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसका आधारमा प्रदेशभित्र स्थायी ठेगाना भएका तथा बागमती प्रदेशमै क्रियाशील श्रमजीवी पत्रकारहरूलाई उपचार सेवामा सहुलियत उपलब्ध गराउन निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार २०८३ साउन २१ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार लागू गरिएको व्यवस्थामा आकस्मिक सेवा निःशुल्क रहनेछ। त्यसैगरी अन्तरङ्ग (भर्ना) विभागका सेवामा शतप्रतिशत छुट, आईसीयू सेवामा ५० प्रतिशत छुट, शल्यक्रियामा ५० प्रतिशत छुट तथा प्रयोगशाला सेवा, एक्स–रे, सिटी स्क्यान, एमआरआई र भिडियो एक्स–रे सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ।

यस्तै स्वास्थ्य परीक्षण सेवा वर्षमा एक पटक निःशुल्क उपलब्ध गराइने भएको छ। प्रसूति सेवा पनि निःशुल्क रहने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अति गरिब, असहाय, अपाङ्गता भएका, विपद्बाट प्रभावित, जेष्ठ नागरिक, सीमान्तकृत तथा लोपोन्मुख समुदायका पत्रकारलाई प्रचलित व्यवस्थाअनुसार थप सहुलियतसमेत उपलब्ध गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेशका सबै प्रादेशिक अस्पताललाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार