यस वर्षको होली पर्व शान्तिपूर्ण र मर्यादित रुपले मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सर्वसाधारणमा आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै होलीका अवसरमा शान्ति सुव्यवस्थामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलहरुमा होहल्ला, झैझगडा नगर्न तथा कसैको इच्छा विपरित जबरजस्ती रङ्ग नदल्न अनुरोध गरेको हो ।
लोला हान्ने, पानी छ्याप्ने, पानीको फोहोरा हान्ने, कसैलाई इच्छाविपरीत मादक पदार्थ वा नसालु पदार्थ सेवन गराउने तथा सेवन गरी सवारी साधन चलाउने, जस्ता अमर्यादित गतिविधि नगर्न नगराउन पनि सूचनामा अनुरोध गरिएको छ ।
यस्ता अमर्यादित, उच्छृङ्खल, अवाञ्छित र गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले जारी गर्नुभएको सूचनामा जनाइएको छ ।