संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले हेटौँडाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कुश्माण्ड सरोवर त्रिवेणी धामको आज अवलोकन गर्नुभयो ।
अनुगमनका क्रममा उहाँले त्रिवेणी धाम क्षेत्रले छोटो समयमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कुष्माण्ड सरोवर क्षेत्रमा निर्माण हुन लागेको बाल उद्यान तथा बुद्ध प्रतिमा निर्माणको कामलाई सम्पन्न गर्नका लागि संघीय सरकारका तर्फबाट बजेट उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभयो ।
सो अवसरमा त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने तथा उपाध्यक्ष मणिप्रसाद सुवेदीसँग छलफल गर्दै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्दा धेरै विषयमा नछरिएर विशिष्टीकृत हुन सल्लाह दिनुभयो ।
उहाँले कुष्माण्ड सरोवर त्रिवेणी धाममा हिडिम्ब, हिडिम्बा तथा पाँच पाण्डवको प्रतिमा निर्माण गरी हेटौँडाको परिचय दिन खोजिएको र यसको महत्व पौराणिक ग्रन्थ महाभारतसँग जोडिन पुगेकाले यस क्षेत्रमा महाभारतको पठन पाठन तथा महाभारतकै कथा प्रवचन र गीताको प्रवचन गर्ने केन्द्रका रूपमा विकास गर्न सल्लाह दिनुभयो ।
सो अवसरमा समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने र उपाध्यक्ष मणिप्रसाद सुवेदीले सचिव दुवाडीको सल्लाह अत्यन्त उपयुक्त रहेकोले यस विषयमा आफूहरू गम्भीर हुने बताउनुभयो ।
अध्यक्ष न्यौपानेले त्रिवेणी धाम विकास समितिमा अहिले भइरहेको निर्माण तथा आगामी योजनाहरू जानकारी गराउनुभएको थियो ।