नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग मकवानपुरगढी गाउँपालिकाले सामरी खोलामा नदीजन्य पदार्थको उत्खनन र ओसारपसार भइरहेको विषयमा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मकवानपुरगढी गाउँपालिका अन्तरगतको सामरी खोलामा विगत १५ दिनदेखि व्यापक रूपमा नदीजन्य पदार्थको उत्खनन् गर्दै ओसार पसार भइरहेको विषयमा गाउँपालिकामा जानकारी गराएको र पालिकाका कर्मचारीहरूले तस्करहरुबाट ज्यान दाबी र धरपकट भएको कुरा आफ्नो संगठनमा आएकाले यस विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।
योङ्ग कम्यनिष्ट लिगले स्थलगत अनुगमन गर्दै सो क्षेत्रमा नदीजन्य पदार्थको व्यापक दोहन भएको निष्कर्ष निकालेको र उक्त विषयमा गाउँकार्यपालिकाको समेत मिलेमतो देखिएको जनाएको छ ।
नदी उत्खननका विषयमा अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्नका लागि १५ दिनको अल्टिमेटमसहित ध्यानाकर्षण गराएको वाइसिएलले जनाएको छ । साथै यस विषलाई गम्भीर रूपमा नलिएमा प्राकृतिक स्रोतको दोहन विरुद्ध माथिल्लो निकायमा जाने चेतावनीसमेत दिइएको छ ।