किसानको पसिनाको कदर कहिले हुन्छ सरकार ?

Nigarani Online 505+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

मकवानपुरको थाहा नगरपालिकाका किसानले उत्पादन गरेको तरकारीले भाउ नपाउँदा अहिले किसानहरू चिन्तित छन् । 

मकवानपुरका थाहा नगरपालिका तरकारी उत्पादनमा अग्रपङ्क्तिमा रहेको स्थान हो । 

अहिले यहाँका किसानले महिनौँ लगाएर तरकारी, खाद्यान्न लगायतका वस्तुहरू उत्पादन गरेका वस्तुहरू बिक्री भएको छैन । यहाँका उत्पादित तरकारीले उचित भाउ नपाउँदा किसानहरू मर्कामा परेका छन् । 

बेमौसमी तरकारीको ‘पकेट’ क्षेत्र मानिएको थाहा नगरका किसानहरू अहिले पुर्पुरोमा हात लगाएर बस्ने अवस्थामा पुगेका छन् । 

यस भेगका किसानहरूको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । तर त्यही खेतीले उचित मूल्यको बजार नपाउँदा आफूहरूले गरेको लगानी भन्दा निकै कम मूल्यमा तरकारी बेच्न बाध्य छन् । 

थाहा नगर क्षेत्रमा टमाटर, काउली तथा मुला उत्पादन हुने गरेको छ । लाखौँ रुपैँया लगानी गरेर निकै मेहनतको साथमा उत्पादन गरेर बेच्ने बेलामा भाउ नआउँदा किसानहरूमा निराशा छाएको छ । 

जुन देशमा किसानको मूल्य हुँदैन त्यहाँ कुनै कुराको पनि मूल्य हुँदैन । राज्यमा शान्ति कायम हुन सक्दैन । जहाँ किसान खुसी र सुखी हुन सक्दैन त्यस देशका कुनै पनि क्षेत्रका नागरिकमा सन्तुष्टि हुनै सक्दैन । नेपालमा अहिले यस्तै अवस्था छ । यहाँ सबैभन्दा अपमानित किसान छन् । सबैभन्दा अपहेलित किसान छन् र त देशमा यावत् समस्याका चाङहरू थुप्रिएका छन् । न सरकाले चैनको सास फेर्न पाएको न नागरिकले नै । यहाँ श्रम ठगिन्छ । दलाल पुजिन्छन् ।  

 उपभोक्ताले महँगो मूल्य तिरेर तरकारी किनिरहनु पर्दा किसानले मूल्य पाउँदैन भने यसको अनुगमन किन हुँदैन ? किन बिचौलियाको पक्षपोषण मात्र हुन्छ यहाँ ? के देशमा बिचौलियाकै रजगज चलिरहने हो ? के राज्यले बिचौलियाकै पक्षपोषण गरिरहने हो ? 

यहाँ त कामभन्दा कुरा गर्नेहरू सम्मानित हुन्छन् । यहाँ राज्यको स्रोत र साधनको लुट गर्नेहरू मौलाउँछन् र राज्यले उनीहरूको पूजा गर्छ । 

किसानको पसिनाको मूल्य पाउँदैनन् । तर राज्य अलिकति पनि सरम मान्दैन । के किसानले आफूले उत्पादन गरेको वस्तुको उचित भाउ पाउने व्यवस्था राज्यले गरिदिनु पर्दैन ? 

थाहा नगरका मात्र होइन देशभरका किसानले उत्पादन गरेका हरेक वस्तुको खरिद राज्यले नै गरेर उचित मूल्यमा उपभोक्तासम्म पुग्ने व्यवस्था गर्नलाई कुन चाहिँ काँडेतारले छेकेको छ ? 

यो थरिथरिका सरकार बनाएर थरिथरिका राजा महाराजा बनाएर राखेको चाहिँ केका लागि ? प्रदेश सरकारको त कुनै काम नै देखिँदैन ? यो काम प्रदेश सरकारले गरिदिँदा के फरक पथ्र्याे ? 

किसानले उत्पादन गरेको तरकारी तथा खाद्यान्न सरकारले नै बजारसम्म जाने व्यवस्था गर्नुपर्दैन ? किन राज्यलाई किसान रोइरहँदा अलिकति चित्त दुख्दैन ? 

नागरिक देशबाट पलायन हुने अवस्था त्यत्तिकै सिर्जना कहाँ भएको हो ? सबैभन्दा सम्मानित किसान हुने र सबैभन्दा बढी आम्दानी किसानले गर्ने अवस्था बनाइ देऊ न सरकार ? अनि त राज्य राज्य जस्तो भइहाल्छ नि ।  

मकवानपुरको थाहा हाँडीखोला, कैलाश, वाग्मतीलगायतका स्थानका किसानले उत्पादन गरेको तरकारी तथा खाद्यान्नले उचित मूल्य पाओस् । उनीहरूले कृषि पेसाबाट पलायन हुने अवस्था सिर्जना नहोस् । यही पेसाबाट नै जीवन निर्वाह मात्र होइन समृद्ध बन्ने अवस्था तीनै तहका सरकारले गरिदिनैपर्छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार