हेटौँडामा आयोजित महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधिका लागि प्रगति माध्यमिक विद्यालय र ज्योति माविबिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमिफाइनलमा खेलमा जित निकाल्दै दुबै टोलीले फाइनल यात्रा तय गरेका हुन् ।
हेटौँडा ९ स्थित प्रगति माध्यमिक विद्यालयले हेटौँडा ८ को चन्द्रोदय माध्यमिक विद्यालयलाई सेमिफाइनलमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा प्रगति माविले २३–२५, २७–२६ र १५–१३ को सेटमा जित निकालेको हो ।
यसैगरी ज्योति माविले श्रीकृष्ण आधारभूत विद्यालयलाई सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।
यसअघि शुक्रबार नै भएका खेलहरूमा प्रगति माविले आधुनिक मावि र भुटनदेवी माविलाई पराजित गर्दै सेमिफइनलसम्मको यात्रा तय गरेको थियो ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले पहिलो पटक आयोजना गरेको नगरस्तरीय महिला शिक्षक भलिबल प्रतियोगितामा १० विद्यालयले भाग लिएका छन् ।
प्रतियोगिताअन्तर्गत शनिबार बिहान ८ बजे तेस्रो स्थानका लागि चन्द्रोदय मावि र श्रीकृष्ण आधारभूत विद्यालय बिच खेल हुनेछ भने पहिलो स्थानका लागि ९ बजे प्रगति मावि र ज्योति मावि आमनेसामने हुने प्रतियोगिताका संयोजक बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजारसहित शिल्ड र प्रमाणपत्र तथा दोस्रो हुनेलाई नगद पाँच हजारसहित शिल्ड र प्रमाणपत्र तथा तेस्रो हुने टिमले नगद ३ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले बताउनुभयो ।