नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभा भोली १६ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु हुने भएको छ । १६ र १७ गते हेटौंडा स्थित रोयल पार्टी प्यालेसमा हुने दुई दिन साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बिहिबार हेटौंडामा प्रत्रकार सम्मेलन गर्दै महासंघले साधारणसभामा देश भरबाट करिब १ हजार १ सय जना प्रतिनिधि र ५ सय जना पर्यवेक्षक सहभागी हुने जनाएका छन् । साधारणसभा मुलुकका समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता, र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण सावित हुने विश्वास गरिएको अध्यक्ष रवि सिंहले बताए ।
साधारणसभाको बिचमा निर्माण क्षेत्रमा विज्ञहरुको लेख रचना र महासंघका गतिविधि समेटिएको निर्माण विशेषांक स्मारिकाको विमोचन गर्ने कार्यक्रम राखिएको छ । निर्माण उद्योगको विकास र विस्तारमा योगदान दिने निर्माण व्यवसायीलाई सम्मान समेत गर्ने बताए ।
साधारणसभा सम्पन्न गर्नका लागि महासंघ अध्यक्ष सिंहको समयोजकमा मुल आयोजक समिति विविध उपसमिति पनि गठन गरिएको छ । साधारणसभा स्थलमा निर्माण कम्पनी सगं सम्बन्धित २४ वटा स्टलहरु पनि राखिने बताए ।
उद्घाटन सत्रमा माननीय उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, माननीय शहरी विकास मन्त्री धनबहादुर बुढा र बागमती प्रदेशका माननीय मुख्य मन्त्री शालिकराम जमकटेल लगायत विशिष्ट अतिथिको रुपमा सहभागी रहने छ । माननीय सांसदहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थाननिय जनप्रतिनिधिहरु, औधोगिक संघ सस्थाका प्रतिनीधिहरु लगायत अतिथिको रुपमा सहभागी हुने बताइएको छ ।