एसइई, नतिजा र विषय छनौटको चिन्ता

Nigarani Online 505+ समाचार ( )
२३ असार २०८१, आइतबार


सरोज लामिछाने

विद्यालय शिक्षा तहको अत्यन्त महत्वपूर्ण खुड्किलो मानिएको माध्यमिक शिक्षा  परीक्षा (एसइई) को यस वर्षको नतिजा असार १३ गते प्रकाशित भइसकेको छ । विद्यालय तह कक्षा १२ सम्म भनिए पनि कक्षा १० पछि नयाँ विषय पढ्ने,  शैक्षिक संस्था बदल्ने हुदा अर्को छुट्टै नयाँ संसारमा प्रवेश हुन लागेको सोची विद्यार्थीमा खुसीको महसुस हुनु स्वाभाविक नै हो ।  परीक्षापश्चात  आम विद्यार्थी र अभिभावकमा अब कहाँ पढ्ने, कुन विषय पढ्ने  कुन विषय अध्ययन गर्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कौतुहलता तथा जिज्ञासा तीव्र रुपमा चल्ने गर्दछ । आफ्ना  छोराछोरीका उच्च शिक्षाका लागि अभिभावकहरू परीक्षा अगावैदेखि नै अनुपम सपना बुनिरहेको पाइन्छ । एउटा अभिभावकले आफ्नो नानीहरूको शिक्षाको बारेमा चिन्ता गर्नु, उनीहरूको पढाइको विषयमा छलफल गर्नु, समय समयमा विद्यालय गई शिक्षण सिकाईको बारेमा जानकारी लिनु नै सचेत अभिभावकको भूमिका निर्वाह गर्नु हो  ।

आर्थिक अवस्था सवल हुने परिवारका छोराछोरी कुन कलेज पढ्ने भनेर रोज्दै हिड्ने, ब्रिज कोर्स पढ्ने तथा त्यसका लागि आवश्यक पूर्वाधार जुटाउनतर्फ लाग्दछन भने अर्कोतर्फ  आर्थिक रुपमा सबल नभएको  परिवारहरूमा आफ्ना छोराछोरीले उच्चतम् अङ्क हाँसिल गर्दा पनि हर्षित हुन नसकेको अवस्था देखिन्छ । उनीहरु उच्च अङ्क भएपछि अन्य साथीहरुसँग महँगो शिक्षण संस्थामा महँगो विषय घरभन्दा टाढा राखेर घरबाट खर्च पठाएर बढी खर्च गर्नुपर्दछ भन्ने मान्यता छ । त्यस्तै कतिपय विद्यार्थी र अभिभावक भने आफुले चाहँदा चाहँदै पनि न्यून जीपीएको कारण वर्षौदेखि संगालेको सपनाअनुसारको विषय पढ्न नपाएको दुःख हामीसामु नौलो छैन ।

बाबुआमाले आफ्ना छोराछोरीप्रति गर्नु भएको आशा र भविष्यको सोचले पनि विद्यार्थीमा विषय छनौटमा असजिलो महुसुस भएको पाइन्छ । बुवा छोरालाई डाक्टर बनाउने सपना देख्नुहुन्छ, आमा इन्जिनियर बनाउन चाहनुहुन्छ, दाइ शिक्षक बनाउन चाहनुहुन्छ भने ऊ स्वयम् चार्टड एकाउन्टेन बन्न चाहन्छ अब भन्नुहोस् उसले कुन विषय पढ्ने र्? घाँटी हेरी हाड निल्नुपर्छ’ भने जस्तै विद्यार्थी र अभिभावकले विषय छान्नुपूर्व उक्त विद्यार्थीको दक्षता, रुचि, उद्देश्य र लगनशीलतालाई मध्यनजर गर्नुपर्छ र हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुको सट्टा विषय रोज्नुअघि सोही विषयका अग्रज व्यक्तिहरुसँग सो विषयको प्रकृति कस्तो छ ? भविष्यमा पढेर के बन्न सकिन्छ ? आफुले प्राप्त गरेको जीपीए अनुसार सोचेको विषय अध्ययन गर्न सकिन्छ, सकिदैन जस्ता अति महत्वपूर्ण र संवेदनशील पाटोलाई शूक्ष्मरूपमा केलाउन नितान्त आवश्यक हुन्छ । अरुको देखासिकी र लहैलहैमा गरेको कुनै पनि काम सफल हुन सक्दैन । एउटा सफल विद्यार्थीले सर्वप्रथम आफ्नो अन्तरआत्मालाई चिन्न सक्नुपर्छ, जुन अरु कसैले बूझन् सक्दैन । अरुबाट थोपरिएको र लादिएको शिक्षा कदापीि दीर्घकालीन चीरस्थाई हुन सक्दैन ।

विद्यार्थीको लागि आजको वैज्ञानिक, प्रतिस्पर्धात्मक र ज्ञानको बिस्फोट भएको युगमा परीक्षा उतीर्ण हुनुमात्र ठूलो होइन, महत्वपूर्ण कुरा त उसले नयाँ कुरा सिकेको छ वा छैन भन्ने हो । वर्तमान समयमा सूचना सङ्कलनलाई ज्ञानको रुपमा लिइन्छ ।  ब्लुम्सको ज्ञानको क्षेत्र अन्र्तगत तथ्य सम्झनुदेखि सिर्जना गर्नु सम्मको ज्ञान विद्यार्थीमा हुनु सफल सिकाइ हो ।  यदि आफुले लिएको ज्ञान व्यवहारमा लागू गर्न सकिएन भने पनि त्यसको कुनै अर्थ छैन । विद्यार्थीले परीक्षामा प्राप्त गरेका अङ्क मात्र सबै चिज होइन । नतिजा र वास्तविक प्रस्तुति भिन्न पाटा हुन् । उसको व्यक्तित्व, उसले अरुमा पार्ने प्रभाव प्रमाणपत्रभन्दा धेरै मूल्यवान हुन्छ । कतिपय   एसइई परीक्षामा राम्रो प्रस्तुित देखाउन नसकेका विद्यार्थीले पनि उच्च शिक्षामा धेरै प्रगति गरेका छन् । 

यतिखेर सम्पूर्ण एसइईमा सफल भएका  विद्यार्थीको मनमा के पढ्ने  भन्ने खुल्दुली चलिरहेको होला । अरुको रोजाइमा विषय छानेर समय, श्रम र लगानीलाई खेर फाल्नुको सट्टा आफै सही निर्णय लिनुपर्छ । उचित विषय छान्न नसक्दा अध्ययनकाक्रममा परीक्षामा राम्रो श्रेणी हाँसिल गर्न नसक्दा एक दुई शैक्षिक सत्र पछि विज्ञान तथा इञ्जिनियरिङ पढेकाहरु पुनः विषय बदलिरहेकाछन्  भने केहिले वितृष्णाका कारण पढाइ नै छाडेका छन् । असफल भई पढाइ छाडन पुगेका साथीहरू आफुले  ठीक समयमा परामर्श र सल्लाह नपाएको कारण देखाई पछुताउँछन् र पछिल्ला साथीहरूलाई सहि निर्णयका लागि सल्लाह  दिने गरेका छन् ।

विभिन्न शैक्षिक संस्थाहरूले विद्यार्थीलाई अनेकौ प्रलोभन देखाई उनीहरको ध्यानाकर्षण गर्ने गरेको हामीले सञ्चार माध्यममार्फत जानकारी पाएका छौ।  अभिभावकहरु पनि  विषय छनौट र  शैक्षिक संस्थाको अवस्थावारे सचेत हुनु पर्दछ । विद्यार्थीले विषय छनौटकाक्रममा निम्न कुराहरूमा ध्यान दिनुपर्दछ—

— विद्याथीले आफ्नो स्तर, क्षमताको लाई ध्यान दिनुपर्छ ।

—अरुले सिफारीस गरेको विषय भन्दा आपmनो रुचि, लक्ष्य र क्षमता अनुसार विषय छनौट गनुपर्छ ।

—आफुले अध्ययन गर्न खोजेको संकाय वा विषय अध्ययन पुरा गरिसकेका व्यक्तिसंग सो संकायको बारेमा जानकारी 

लिनुपर्छ ।

—हतारमा निर्णय लिनु हुँदैन ।

—विषयगत अंकको आधारमा विषय छान्नुपर्छ ।

— आफ्नो विद्यालयका शिक्षकहरूसंग सल्लाह लिनुपर्छ र आफूले  पहिले अध्ययन गरेको विद्यालयमा पढ्न चाहेको विषय अध्यापन हुने भए सोही विद्यालयमा पढ्दा राम्रो हुन्छ ।

—विभिन्न शैक्षिक परामर्श केन्द्रद्वारा प्रदान गरिने परामर्श कक्षामा समावेश भएर पनि धेरै कुरा बुझ्न सकिन्छ । 

—सस्तो प्रचार र विज्ञापनको पछि लाग्नु हँदैन ।

—रुचि अनुसार विषय छानी म यसैमा केही गर्छु भन्ने दृढ विश्वास लिनुपर्छ ।

—परिवारका सदस्यहरूसंग छलफल गरी परिवारको स्थिति र उनीहरूको अभिलाषा लाइ ध्यान दिनु पर्छ । 

—घर छाडेर बाहिर बस्दैमा गुणस्तरीय शिक्षा पाइने, सफल   हुने सोच राख्नुहुदैन ।

यसरी समयमा सही निर्णय गर्न सकेको खण्डमा तपार्इँको शैक्षिक दिनहरू सफल भई भविष्य उज्ज्वल रहनेछ ।


                                 लेखक वंशगोपाल माध्यमिक विद्यालय हेटौँडा ६ का मावि तहका अंग्रेजी शिक्षक हुनुहुन्छ । 




प्रतिक्रिया

KD Bhandari २३ असार २०८१, आइतबार

विद्यार्थीहरूलाई सही निर्णय लिन सहयोगी सिद्ध हुन्छ ।

Rabindra Gautam २३ असार २०८१, आइतबार

समय सान्दर्भिक लेख !

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार