हेटौँडा ९ स्थित प्रगति माध्यमिक विद्यालयको अक्षयकोषमा एक लाख रुपियाँ रकम थप भएको छ । ३१ वर्ष विद्यालयमा अध्यापन गरी स्वेच्छिक अवकाश लिनुभएकी शिक्षक मन्जु खनालले अक्षयकोषमा एक लाख रुपियाँ प्रदान गर्नुभएको हो ।
शुक्रबार भएको विदाई कार्यक्रमका अवसरमा शिक्षक खनालले आफ्ना मातापिताको नाममा एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने बताउनुभयो । सो रकमबाट विद्यालयका गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
वि.सं. २०५० सालदेखि निरन्तर प्रगति माविमा अध्यापन गर्दै आउनुभएकी शिक्षक मन्जु खनालले ३१ वर्ष शिक्षण गरी यही चैत ३ गतेदेखि स्वेच्छिक अवकाश लिनुभएको हो । उहाँको आज शुक्रबार विद्यालयले बिदाई कार्यक्रम राखेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्यहरू गोमा न्यौपाने, भगवान राना, शिक्षक प्रतिनिधि श्यामकुमार बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष राजु गौतम, प्रधानाध्यापक किशोर पराजुलीलगायतले शिक्षक खनालको बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा उहाँलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।