तामाङ राष्ट्रिय स्वदेशी सत्ता अभ्यास एवं साँस्कृतिक सभ्यता र प्राकृतिक सम्पदाको संवर्धन र संरक्षण गर्ने उद्देश्यले तामाङ राष्ट्रिय परिषद गठन गरिने भएको छ ।
आगामी चैत २ गते परिषद गठन गर्नका लागि भीम रुम्बा तामाङको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा योगबहादुर ब्लोन, जितु गोले तामाङ र विपल घिसिङ तामाङ सदस्य रहेका छन् ।
चैत २ गते अभियानको कार्यालय संगमचोक हेटौँडामा भेला गरी परिषद गठन गरिने जारी गरिएको अपिलमा उल्लेख गरिएको छ । भेलामा सम्पूर्ण तामाङ समुदायलाई उपस्थितिका लागि अपिल गरिएको छ । तामाङ समुदायले सुशासनसहितको न्ययाोचित राज्यव्यवस्थाका लागि बलीदान दिए पनि राज्यले सधैँ उपेक्षा गरिरहेकाले परिषद गठन गर्न लागिएको जनाइएको छ ।
तामाङ समुदायले दिएको बलिदानीलाई सधैँ नजरअन्दाज गरिएको र आफूहरु राज्यको मूलधारमा कहिल्यै समाहित हुन नसकेको भन्दै राज्यविहीन तामाङहरुले राज्यको अनुभूति गर्न नपाएको जनाइएको छ । सुशासनका लागि आफूहरुले गरेको आन्दोलन आफूहरु विरुद्ध नै प्रयोग भएको महसुस गरिएको पनि अपिलमा जनाइएको छ ।
प्राक्कालीन कालखण्डदेखि अभ्यास गर्दै आएको आदिम सत्ताका महान पुर्खजद्वारा विस्तार गरिएको तामाङको इतिहास भए पनि कहिले राणा शासक, कहिले शाह वंशीय शासक त कहिले नयाँ शासकहरुबाट दमनमा पर्दै आइरहेकोले परिषदमार्फत नयाँ अभियान चलाउनुपर्ने अवस्था रहेको अपिलमा जनाइएको छ ।