रवीन्द्र मिश्रहरूलाई देशको भन्दा राजतन्त्रको किन चिन्ता लाग्छ ?

Nigarani Online 505+ समाचार ( )
आदर्श सिं थोकर
९ कार्तिक २०८०, बिहीबार

जुन देशमा बारम्बार शासन व्यवस्थामाथि प्रश्न उठाइन्छ त्यो देशले विकासको लय समात्न सक्दैन । जहाँ शासकको इमानदारिता र लगनशीलतालाई भन्दा शासन व्यवस्थाप्रति आशङ्का बढी हुन्छ त्यहाँ निराशाका बादल बढी मडारिन्छन् । मानिसमा अन्योलता सिर्जना हुन्छ । सर्वसाधारण नागरिक अन्यमनस्क अवस्थामा पुग्छन्  । कागको कुहिरो जस्तो बन्छन् र युवा पुस्तामा देशको भविष्यप्रति विश्वास हराउन थाल्छ अनि शिक्षित, चेतनशील वर्ग राष्ट्रबाट पलायन हुन थाल्छन् । 

यहाँ बारम्बार शासन व्यवस्थालाई दोषी देखाइन्छ । आफ्ना कर्तुत र अकर्मण्यताको दोष शासन व्यवस्थामाथि थोपरिन्छ र सधैँ नागरिकको भावनामाथि खेलवाड गर्दै आफ्नो दुनो सोझ्याउनेहरूले चलखेल गरिरहन्छन् । 

नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा हुँदै छ । लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालमा नागरिकले कहिल्यै नपाएको स्वतन्त्रता पाएका छन् । नागरिकले थामीनसक्नु अधिकार पाएका छन् र पाएका छन् अराजकताको वैधानिक अनुमति पनि । 

यसैको फाइदा उठाउँदै कतिपय उल्टो बाटोको हिँड्न खोजीरहेका छन् । गणतन्त्रमा पाएको अधिकारको सहारा लिएर यही शासन व्यवस्थामाथि  धारे हात लगाउँदै छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहसँग दसैँको टीका लगाएपछि अर्काे वर्ष नारायणहिणीमै टीका थाप्न पाइयोस् भन्ने कामना गरे । उनले यही कुरा ज्ञानेन्द्र शाहलाई सुनाए । तीन घन्टासम्म लाइनमा लागेर टीका लगाएपछि उनले पूर्व राजासँग अर्काे वर्ष नारायणहिटीमै टीका थाप्न पाऊँ भनी प्रार्थना गरे । 

टीका कसले कोसँग लगाउने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रताको कुरा हो । टीका लगाउका विषयसँग हाम्रो असन्तुष्टि होइन । 

तर उनले गरेको प्रार्थनाले झसङ्ग बनाउने काम ग¥यो । नेपालमा शासन व्यवस्था फेरि परिवर्तनको अपेक्षा गरेको देखियो । लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर प्रश्न चिह्न खडा गरिदियो । राप्रपाले राजतन्त्रका पक्षमा दह्रो रूपमा वकालत गर्ने सङ्केत ग¥यो । 

२०७४ सालको निर्वाचनमा भन्दा धेरै मत पाएपछि राप्रपा अहिले चाहिनेभन्दा बढी हौसिएको छ । उसलाई राजतन्त्रको भूत चढेको छ । नेपाली नागरिकले विकास समृद्धिको सपना देखेर ल्याएको गणतन्त्रप्रति इष्र्या जागेको छ र पुनः देशमा राजतन्त्र ल्याएर हालीमुहाली गर्ने  सपना दखिरहेको छ । 

राप्रपाले यो कुरा पनि बुझ्नुपर्छ कि देशमा राजतन्त्र ल्याउनका लागि नागरिकले धेरै मत दिएका होइनन् । राजतन्त्र ल्याउने आवाज उठाउन राप्रपाले यति धेरै भोट पाएको पनि होइन । केही नेताहरूको नयाँपन, केही नेताहरूप्रति आशा र केही अन्य राजनीतिक दलहरूप्रतिको निराशाले यो मत पाएको हो भन्ने करालाई पनि हेक्कामा राख्नुपर्छ । 

मिश्रहरूलाई लाग्दो हो समानुपातिक र प्रत्यक्षमा गरेर आफूहरूले पाएको भोट राजतन्त्रका पक्षपातीले दिएका हुन् । यो तपाइँहरूको भ्रम हो । जुम्लामा पाएको मत पूर्व राजा ज्ञानेन्द्रलाई सिंहासनमा पु¥याउने मनसायले पाएको होइन । त्यो त स्थानीय ज्ञानेन्द्र शाहीको व्यक्तित्वको प्रभाव हो । आफ्नो व्यक्तित्वको प्रभावले पाएको मतलाई दुरुपयोग शाहीहरूले गर्न थाले भने भविष्यमा कहिल्यै उठ्न नसक्ने गरी थला पर्ने छन् । 

मकवानपुरमा दीपकबहादुर सिंहलाई पनि ज्ञानेन्द्र शाहलाई नारायणहिटी पु¥याउने जाऊ भनेर दिएको मत होइन । अन्य दलहरूप्रतिको नागरिकको आक्रोश मात्र हो । त्यसैले यसलाई सदुपयोग गर्नुपर्ने राप्रपा फेरि पनि राजतन्त्रको कुरा उठाएर आफ्नो पतनको खाल्डो आफैँ खन्न लागि परेको देख्दा नागरिकले उदेक मान्न थालेका छन् । 

के शासन व्यवस्थाकै कारण देशको अवस्था दिनप्रतिदिन बिग्रँदै गइरहेको हो ? के शासन व्यवस्था परिवर्तन हुने बित्तिक्कै देशमा कायापलट भइहाल्ने हो ? यदि यसो हो नेपालले कुन शासन व्यवस्थाको भोग गरेन ? 

१०४ वर्ष निरङ्कुश राणा शासनमा देशमा किन उलटपुलट भएन ? पञ्चायत कालले देशलाई समृद्धिको चरम अवस्थामा किन पु¥याउन सकेन ?  अनि २०४७ सालपछिको प्रजातन्त्रको अवधिमा देशले किन फड्को मार्न 

सकेन ? 

शासन व्यवस्था मूल कुरा हो कि शासकको इमानदारितो ? अब राष्ट्र बनाउने कुरालाई जोड दिने कि शासन व्यवस्थामाथि नै प्रश्न उठाइरहने ? नागरिकले कति पटक व्यवस्था परिवर्तनका लागि लडिरहने ? रवीन्द्र मिश्रहरूलाई यो शासन व्यवस्थाले पोलिरहँदा देशको अवस्थाले किन पोल्दैन ?  

कर्णालीको भोकमरीले किन घोच्दैन ? गरिब, किसान, मजदुरका समस्याले किन सताउँदैन ? 

के शासन व्यवस्था परिवर्तन गरेर आफ्नो दुनो सोझ्याउने मात्र चाहना हो ? राजनीति, देश र नागरिकका लागि गरेको हो कि आफ्ना लागि ? 

देशबाट दिनप्रतिदिन युवाहरू पलायन हुँदै छन् । व्यापार व्यवसाय टाट पल्टँदै छ । भएको उद्योगधन्दा धरासायी भइरहेका छन् । निर्माणका कामहरू अगाडि बढ्न सकेका छैनन् । आर्थिक अवस्थाले देशलाई सङ्कटको छेउमा पु¥याइसक्यो । यस्तो अवस्थामा ज्ञानेन्द्र शाहले नारायणहिटीमा बस्ने बित्तिक्कै छुमन्तर भइहाल्ने हो ? 

यस विषयमा चिन्ता छैन भने राजनीति गर्नुहुन्छ केका लागि ? देशको यो अवस्थाबाट उन्मुक्तिका लागि भूमिका निर्वाह गर्ने कि शासन व्यवस्था परिवर्तन गरेर अर्काे भुमरीमा नागरिलाई होमिदिने ? 

भयो अब शासन व्यवस्थाका लागि कुरै नगरौँ अब सबै मिलेर देशका लागि सोचौँ । देशका लागि राजनीति गरौँ । आफ्ना लागि राजनीति गर्नेहरू देशले धेरै व्यहो¥यो । राजनीति खेती गरेर आफू फस्टाउनेहरू धेरै देखियो चाहे त्यो पञ्चायत कालमा होस् यो प्रजातन्त्रको अवधिमा होस् । राणा शासनको त कुरै नगरौँ । अब राष्ट्रको कुरा गरौँ न मिश्रज्यूहरू । यो देश कसैले बिरासतमा पाएको वस्तु होइन । कुनै अमुक व्यक्तिले राजदण्ड सम्हाल्दैमा नागरिकको दैनिकीमा परिवर्तन आउदैन । 

अब प्रधानमन्त्रीको कदमको निरीक्षण गरौँ । देशका विकृति र विसङ्गतिको आवाज उठाऔँ । इमानदार नेतालाई देशको वागडोर सुम्पने काम गरौँ  । अब उल्टो होइन सुल्टो बाटो नै हिँडौँ न । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार