हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्षको कामकारबाहीप्रति स्थानीय नेकपा माओवादी, नेपाल समाजवादी पार्टीलगायतका दलसम्बद्ध व्यक्तिहरूले असन्तुष्टि जनाएका छन् ।
यस वडामा नेकपा एमालेबाट निर्वाचित नरनाथ सुवेदी वडाध्यक्ष हुनुहुन्छ । ती राजनीतिक दलहरूले वडाध्यक्ष मनोमानी ढङ्गले चलेको आरोप लगाएका छन् । बजेट विनियोजन र विकास निर्माणका काममा वडाध्यक्ष आफ्नै पाराले चलेकोे उनीहरूकोे आरोप छ ।
आफ्नो नाम उल्लेख नगर्न भन्दै एक स्थानीय माओवादीका नेताले हामीलाई टेलिफोन गर्दै वडाध्यक्षले वडा भेला नै नगरी र टोल विकाससँग छलफल नै नगरी मनोमानी ढङ्गले बजेट विनियोजन गरेको आरोप लगाए ।
वडाध्यक्ष नरनाथ सुवेदी अहिले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ को दास्रो कार्यकालको वडाध्यक्ष हुनुहुन्छ । पहिलो कार्यकालमा पनि उहाँ नै यस वडाको वडाध्यक्ष हुनुहुन्थ्यो । माओवादी नेताले भने, “पहिलो कार्यकालमा वडाध्यक्ष सुवेदीले सबैसँग सरसल्लाह लिएर काम गर्नुहुन्थ्यो तर अहिले मनोमानी ढङ्गले काम गरिरहनुभएको छ ।”
आफ्नो पार्टीका कार्यकर्तालाई काखी च्याप्ने र उनीहरूलाई फाइदा पुग्ने कामहरू गर्ने तर अरू पार्टीका व्यक्तिाहरूलाई पूरै बाइपास गरेर काम गरिरहनुभएको उनीहरुकाे आरोप थियो ।
आफ्नो कार्यकर्ता बढी भएका टोलहरूमा बजेट बढी हाल्ने, अरूको जग्गा मिचेर बाटो स्ल्याब ढलान गर्ने, आफूलाई नाफा हुने र विकास निर्माणमा पर्सेन्ट आउने ठाउँमा बजेट दिने गरेको जिकिर थियो ।
उनले टेलिफोनमा हामीसँग गुनासो गर्दै यति मात्र कुरा गरेनन् । वडा कार्यालयभित्र पनि बेथिति रहेको बताए । वडा कार्यालयमा केही काम लिएर गयो सचिव हुँदैनन् । सिफारिस लिन जाँदा वडासचिब हुनुहुन्न भन्छन्, दुईचारदिन कुर्नु भन्छन्, कम्प्युटर अपरेटरलाई टाइप गर्नु भन्दा एउटा सामान्य चिठीसमेत टाइप गर्न आउँदैन भन्छन् । वडा कार्यालयभित्रै लेखनदासको काम गर्न आफ्नै कार्यकर्तालाई टेबुल कुर्सी दिएर राखिएको छ । उनले प्रतिव्यक्ति ५० रुपियाँ लिएर काम गर्ने गरेका छन् । यो काम पनि गैरकानुनी र आफ्नो कार्यकर्ताको पक्षपोषण भएको ती माओवादी नेताको गुनासो छ ।
स्थानीय बासिन्दा तथा नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार भेटवालले पनि वडाध्यक्ष र उहाँको कार्यशैलीप्रति असन्तुष्टि रहेको बताए ।
वडाध्यक्ष सुवेदीले गर्ने कामहरू मनोमानी भएको विपक्षीहरूलाई पूर्ण रूपले बेवास्ता गरेको आफ्नै पारामा चलेको आरोप उनको छ ।
यस विषयमा हामीले वडाध्यक्ष नरनाथ सुवेदीलाई फोन गरेर सोध्यौँ । वडाध्यक्ष सुवेदीले आफूले सबैसँग छलफल गरेर बजेट विनियोजन गरेको बताए ।
कानुनी हिसाबले सबै टोलविकास समितिसँग सरसल्लाह गरेर बजेट विनियोजन गरेको उहाँले स्पष्ट पारे । उनले भने, “यो लोकतन्त्रमा सबैको चित्त बुझाउन सकिँदैन । विरोध गर्न पाइन्छ म त्यसलाई सहज रूपमा लिन्छु । मैले विधिसम्मत काम गरेको छु । कानुन विपरीत कुनै पनि काम गरेको छैन । कसले के भन्छन् त्यसको पछि लागेर हिँड्ने मेरो बानी छैन ।”
नाफा हुने ठाउँमा र पर्सेन्ट आउने स्थानमा बजेट विनियोजन गरेको आरोपका सन्दर्भमा उहाँले पुष्टि गर्न चुनौती दिए । त्यत्तिकै आरोप लगाउन पाइँदैन । कहाँ र कुन बजेट विनियोजन गर्दा पर्सेन्ट खाएको हो भन्ने पुष्टि गर्नुपर्छ ।
वडाध्यक्ष सुवेदीले बाटो खोल्ने विषयमा पनि सबैको सहमति लिएर काम भएको बताए । सहमतिमा बाटो खोलिएका ठाउँमा मात्र स्ल्याब ढलान गर्ने काम गरिएको छ । कहाँ कहाँ बलमिच्याइँ गरेर बाटो बनाइयो त्यो प्रमाणित हुनुपर्ने सुवेदीको भनाइ छ ।
सेवाग्राहीको सहजका लागि कार्यालयमै बस्ने ठाउँ दिएर लेखन्दासलाई बस्न दिएको हो । यस सम्बन्धमा योभन्दा बढी केही कुरा होइन भन्दै सुवेदीले जे पनि आरोप लगाउनेहरूले आरोपको पुष्टि गर्नपर्ने बताए । उनी केही आक्रोशित हुँदै भने, “तपाइँहरू आफैँ आएर बुझ्न सक्नुहुन्छ ।” कम्प्युटर अपरेटर कस्तो मान्छे हुन् भन्ने विषयमा कार्यालयमै आएर बुझ्न उनले आग्रह गरे ।
देशमा अहिले पक्ष र प्रतिपक्षको रोग केन्द्रमा मात्र होइन, संसदमा मात्र होइन गाउँगाउँमा फैलिएको छ । यो यति सङ्क्रमक हुँदै गइरहेको छ कि यस्ते अवस्था रहिरहने हो भने हाम्रो समाजको अवस्था नै भयानक हुन सक्ने देखिन्छ ।
यहाँ नागरिकसमेत आफ्नो पार्टी र अर्काे पार्टीको मान्छे भन्दै पूर्वाग्रही बनिरहेका छन् । संघमा माआवादी र काँग्रेसले सरकार चलायो । देशको हरेक निकायमा आफ्ना मान्छे भर्ती ग¥यो । देशलाई लुट्नु लुट्यो भनेर नेकपा एमालेलाई पोलिरहेको छ । संसद अवरुद्ध जस्तो जन विरोधी काम गरेर त्यही कुण्ठा पोखिरहेको छ । यसमा सरकार पक्षको कुनै दोष छैन भन्ने होइन । जति प्रतिपक्षीको दोष छ त्योभन्दा धेरै दोष सरकारी पक्षको पनि छ ।
सरकार मनोमानी ढङ्गले हिँडिदिने प्रतिपक्षले साना साना कुरामा खोचे थाप्ने कामले सधैँ विकासका मार्गमा तगारो लागिरहन्छ ।
यही रोग अहिले वडावडामा देखा पर्न थालेको छ । प्रतिपक्षी मानसिकताले पिल्सिरहेकाहरू पालिका र वडाका नेतृत्वप्रति सधैँ पूर्वाग्रही बनेका देखिन्छन् । उनीहरूले काममा सधैँ खोट देख्ने बानी परिसकेको छ । चाहे पालिका र वडाका नेतृत्वले राम्रो काम गरेको किन नहोस् । उनीहरूले गरेका काममा दोष देख्छन् । आफ्नै कार्यकर्तालाई पोसेको आरोप खेप्नुपर्छ । त्यसो भन्दैमा पालिका र वडाका नेतृत्व दुधले नुहाएर छन् भन्ने पटक्कै होइनन् । केही दिन अगाडि मात्र सार्वजनिक भएको तथ्याङ्कमा पालिकाहरू अहिले सबैभन्दा भ्रष्ट देखिका छन् । अधिकाँश पालिकाका प्रमुख उपप्रमुखहरूमाथि अहिले अख्तियारमा उजुरी परेको छ ।
उनीहरू आफ्नालाई काखा र अरुलाई पाखा गर्न सधैँ उद्यत छन् । कार्यकर्तामुखी बजेट विनियोजन नगरिएका पनि होइनन् ।
देशमा यस्तो अवस्था सिर्जना हुनु राम्रो कुरा होइन । विकासमा सबैको एकमत हुनुपर्छ । सबै एकजुट हुनुपर्छ ।
हेटौँडा उपमहानगरपालिका १९ मा पनि यही रोग लागेको नहोला भन्न सकिन्न । जे भए पनि वडाध्यक्षले पनि सबैको सहमतिमा काम गर्नैपर्छ । वडालाई सभ्य, भ्रस्टाचाररहित बनाउन सबैको साथ लिनैपर्छ ।
वडाबासीले पनि आफूलाई आर्थिक लाभ हुने काम पाइन भनेर र आफ्नो स्वार्थ पूरा भएन भनेर अनावश्यक आरोप लगाउनु हुँदैन । स्वस्थ आलोचना गर्न पाइन्छ । तर आफ्नो स्वार्थ बाझियो भनेर अनावश्यक आरोप लगाउनाले स्थानीय बासिन्दाप्रतिको विश्वासमाथि पनि प्रश्न चिह्न उठ्न सक्छ ।
सार्वजनिक ठाउँमा आरोप लगाउनुको सट्टा सम्बन्धित वडाध्यक्षसँगै बसेर छलफल गरी आगामी दिनको बाटो तय गर्न सकिन्छ तर त्यसमा बार्गेनिङको गन्ध आउनु हुँदैन । त्यसमा लेनदेनको सौदाबाजीको दुर्गन्ध फैलनु हुँदैन यदि त्यसो भयो भने आफैँ खाडलमा पर्न सकिन्छ । आमसञ्चारले दुवै पक्षको वास्तविकता उदाङ्गो पारेर देखाइदिने छ ।