शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवप्रसाद सापकोटाले हेटौँडा ९ स्थित प्रगति माविको अवलोकन गर्नुभएको छ ।
दिगो विकास लक्षित कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रमको अनुगमनका लागि हेटौँडा आउनुभएका सहसचिव सापकोटाले प्रगति माविको अवलोकन गर्नुका साथै अन्तरक्रियासमेत गर्नुभएको हो ।
सो अवसरमा उहाँले प्रगति माविका सम्पूर्ण शैक्षिक पक्षका बारेमा चासो राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक किशोर पराजुली तथा सहायक प्रधानाध्यापक सुदीप पौड्यालले विद्यालयका गतिविधिबारे जानकारी गराउनुभयो ।
विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक पक्षका बारेमा चासो राख्नुभएका सहसचिव सापकोटाले विद्यालयको शैक्षिक तथा भौतिक पक्षको प्रशंसा गर्दै थप सुधारका लागि सुझावहरू समेत दिनुभयो ।
दिगो विकास लक्षित अन्तर्गत विद्यालयले सञ्चालन गरेको कुपोषण सम्बन्धी परीक्षण कार्यलाई नौलो कार्य संज्ञा दिँदै सापकोटाले यसले अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्यमा सचेत बनाउन सहयोग पु¥याउने बताउनुभयो ।
दिगो विकास लक्षित कार्यक्रम अन्तर्गत प्रगति माविका ९५ जना विद्यार्थीको पोषण अवस्थाको परीक्षण गरिएकोमा ४५ जनाको पोषण अवस्था कमजोर भेटिएको थियो । ।
पोषण अवस्थाको परीक्षण गर्न MUAC टेपको प्रयोग गरिएको प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । सो क्रममा उमेर अनुसार उचाइ, वजनको परीक्षण गरिएको थियो ।
कुपोषित बालबालिकाहरूलाई पौष्टिक आहार वितरण गरिएको प्रअ पराजुलीले जानकारी दिनुभयो ।
यसैगरी दिगो विकास लक्षित कार्यक्रम अन्तर्गत नै लागू तथा मादक पदार्थको असर र समाधानका उपायहरुको बारेमा अभिमुखीकरण कार्यक्रम गर्नुका साथै निबन्ध प्रतियोगिता पनि गरिएको उहाँले बताउनुभयो ।
विद्यालयका अनुगमनका क्रममा सहसचिव सापकोटाले देशको वर्तमान शैक्षिक प्रणालीका बारेमा समेत छलफल गर्नुभएको थियो । विद्यालयका प्रधनाध्यापक तथा शिक्षकहरूबाट आएका सल्लाह र सुझावका आधारमा शिक्षाको नीति तथा योजना निर्माण गर्न थप सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी, विद्यालयका सहायक प्रधानाध्यापक ज्योति न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु नवराज कोइराला र गोमा न्यौपाने, विद्यालय नर्स सवनम श्रेष्ठ, विद्यालयका लेखापाल अशोक आलेलगायतको उपस्थिति रहेको थियो ।