विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।
ज्ञापनपत्रमा अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायलाई अपराधीकरण गर्ने गरी विवादास्पद अभिव्यक्ति दिएकोले हदैसम्मको सजायको माग गरिएको जनाइएको छ ।
नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति मकवानपुर र नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै आफूहरुको आन्दोलनमा बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाहीको माग गरिएको छ ।
साउन १७ गते अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा धर्ना दिने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीसहित संलग्न प्रहरीमाथि कारबाहीको माग गरिएको हो । प्रहरीले अनावश्यक बल प्रयोग गरी चरम यातना दिएको र यातना तथा निर्घात कुटपिटबाट घाइते भएका अभियन्ताहरूलाई उपचार खर्चसहित उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।
गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने अधिवक्ता भगवती पाण्डेले प्राइम टेलिभिजमा अन्तर्वार्ता दिने क्रममा “तामाङ र मगर जातिमा दाजुबहिनीबीचमा बिबाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैंसी र बाख्राभन्दा पनि तुच्छ“ हुन्छ भनी सिङ्गो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासमाथि गलत ढंगले व्याख्या गर्नुका साथै आनुवांशिक रूपमा नै अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति टेलिभिजन, युट्युब र टिकटकबाट समेत प्रत्यक्ष तथा रेकर्डेड प्रसारण भएको कुराले आफूहरुको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको ज्ञापनपत्रमा उल्लेख छ । साथै निजलाई गलत अभिव्यक्ति सच्याउन पटकपटक आग्रह गर्दा समेत अटेर गरेपछि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको र सो उजुरी दर्ता भएको लामो समय बितिसक्दा समेत निजलाई पक्राउ नगरेपछि प्रहरी परिसर टेकुका अधिकारीलाई घेराउ गरेको जनाइएको छ ।
नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद मकवानपुर, भुजेल समाज समिति, किराँत राई यायोख्खा मकवानपुर, तमु ह्युलछोंज गुरुङ राष्ट्रिय परिषद मकवानपुर, थारु कल्याणकारिणी समाज मकवानपुर, दनुवार जागरण समिति मकवानपुर, नेवाः देय दबु मकवानपुर, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर र माझी उत्थान संघ मकवानपुरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा कानुन व्यवसायी पाण्डेको उक्त अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजको धार्मिक, सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको जनाइएको छ