हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ कार्यालयले प्रगति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति तथा विद्यालयलाई २० थान सिलिङ फ्यान प्रदान गरेको छ ।
बुधबार १० कक्षाका विद्यार्थीहरुका लागि आयोजित शुभकामना कार्यक्रमका अवसरमा वडा नं. ९ का वडाध्यक्ष शुकराम केसीले छात्रवृत्ति रकम तथा फ्यान हस्तान्तरण गर्नुभएको हो ।
उहाँले प्रगति माविमा कक्षा ११ मा अध्ययन गर्ने २८ जना विद्यार्थीहरूलाई १ लाख ८० हजार रुपियाँ छात्रवृत्ति प्रदान गर्नुभएको हो । वडाध्यक्ष केसीले प्रगति माविबाट एसइई उत्तीर्ण गरी सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई ६० प्रतिशत शुल्क वडा कार्यालयले व्यहोर्ने गत वर्ष नै घोषणा गर्नुभएको थियो । सोही अनुसार गत वर्ष एसइई उत्तीर्ण गरी प्रगति माविमा अध्ययन गर्ने २८ जनाले ६ हजारदेखि १० हजारसम्मका दरले छात्रवृत्ति रकम पाएका हुन् ।
यस वर्षको एसइई परीक्षा पनि उत्तीर्ण गरी प्रगति माविमा नै अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने वडाध्यक्ष केसीले बताउनुभयो । उहाँले आफ्नो कार्यकालभरि यस कार्यले निरन्तरता पाउने बताउनुभयो ।
यसैगरी उहाँले २० थान सिलिङ फ्यान हस्तान्तरण गर्दै विद्यार्थीको शैक्षिक उन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य कमला पौडेलले कक्षा १० का विद्यार्थीहरुलाई एसइई परीक्षाको सफलताको शुभकामना दिनुभयो । सो अवसरमा वडा सदस्य विष्णु राना मगर, विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज कोइराला, सुशीला खतिवडा, गोमा न्यौपाने, प्रधनाध्यापक किशोर पराजुली सहायक प्रधानाध्यापक सुदीप पौड्याल, बालमैत्री वडा सहजकर्ता आशिष खतिवडा, शिक्षक अभिभावक संघका अध्यक्ष राजु गौतमलगायतको उपस्थिति रहेको थियो ।