मानवबस्ती नजिकै राष्ट्रिय निकुन्ज स्थापना भएपछि मकवानपुरमा जङ्गली जनावरले मानिसलाई आतङ्कित बनाइरहेको छ ।
शुक्रबार मनहरीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका वडा नम्वर १ दुबीचौर बस्ने अन्दाजी ४३ वर्षीय हरि पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
स्थानीयको विरोधका बाबजुद पनि राष्ट्रिय निकुन्जभित्र मकवानपुरको भूभाग समेटिएपछि अहिले स्थानीय जङ्गली जनावरबाट आतङ्कित छन् ।
कहिले जङ्गली हात्तीले मानिसलाई सताउँछ भने कहिले गैँडा मानव बस्तीभित्र छिरेर आतङ्कित बनाउँछ । तर यस विषयमा न राष्ट्रिय निकुन्जले कहिल्यै चिन्ता र चासो व्यक्त गरेको पाइन्छ न सरकारी निकायले कुनै चासो राख्छ ।
मानव बस्ती जङ्गली जनावरबाट सुरक्षित रहनुपर्छ । जङ्गली जनावरले पनि मानव समाजबाट विचलित हुने र अशान्त बन्ने अवस्था सिर्जना हुनुहुँदैन ।
राष्ट्रिय निकुन्ज भएको स्थानभन्दा निकै टाढा मानव बस्ती बस्नुपर्छ । यदि राष्ट्रिय निकुन्ज नजिकै मानवले बसोबास गरे भने त्यसबाट हुने क्षतिको मानिस नै जिम्मेवार हुन्छ ।
तर मकवानपुरको सवाल भने योभन्दा फरक छ । साविकको हाँडीखोला, पदमपोखरीलगायतका गाउँपालिकामा धेरै वर्ष अगाडिदेखि मान्छेले बसोबास गर्दै आएका हुन् ।
यहाँ मान्छे बस्न थालेको एक शताब्दी हुन लागिसकेको छ । तर यही मानवले ओगटेको जमिन र सुरक्षित महसुस गरेर बसेको भूभागलाई पर्सा वन्यजन्तु आरक्षभित्र समेटियो । त्यतिबेला केहीले विरोध पनि गरेको थिए तर उनीहरूको विरोधलाई नजरअन्दाज गरियो ।
वि.सं. २०७४ सालमा त्यही वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुन्ज बनाइयो । यसरी पर्सा वन्यजन्तु आरक्ष घोषणा गरिसकेपछि अहिले मानवबस्ती असुरक्षित बनेको छ । अहिले यो बस्ती आतङ्कित छ । कुन बेला जङगली जनावरको आक्रमणमा परिने हो भन्ने त्रासमा यहाँका मानिस बाँच्न विवश छन् ।
मानवलाई शान्तिपूर्व बाँच्न नदिने अवस्था भइसक्दा पनि यसको विकल्प खोजिएको छैन । कि यस क्षेत्रलाई सम्पूर्ण रूपले मानवबस्तीरहित क्षेत्र बनाएर उनीहरूलाई अन्य स्थानान्तरण गर्नुपर्छ कि यस क्षेत्रलाई आरक्षलाई हटाउनुपर्छ । अन्यथा यो ठाउँमा मान्छेले शान्तिपूर्वक बस्न नपाउने अवस्था रहन्छ ।