हेटौंडा, २०८२ असार १५
"विकृति र प्रतिशोधको अवसान, विधिको शासन कायम गर" भन्ने मूल नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौर गेटअगाडि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। जिल्ला सभापति भरत पराजुलीको नेतृत्वमा सुरु गरिएको यो अभियान पार्टी सभापति रवि लामिछानेमाथि भएको भनिएकाे राजनीतिक प्रतिशोधको विरोधमा रहेकाे सभापति पराजुलिले बताउनु भयाे ।
कार्यक्रममा "राजनीतिक प्रतिशोध बन्द गर", "दलीय सिन्डिकेट लोकतन्त्रको अवरोध", "राज्य संरक्षित अराजकताविरुद्ध जनताको आवाज" लगायतका नारासहित जनसमुदायलाई हस्ताक्षरमा सहभागी गराइएको छ। रास्वपाका अनुसार उक्त अभियान मकवानपुर जिल्लाभरिका विभिन्न स्थानमा चरणबद्ध रूपमा विस्तार भइरहेकाे छ ।
जिल्ला अध्यक्ष पराजुलीका अनुसार यो हस्ताक्षर अभियान हिजाे शनिवारबाट सुरु भइसकेको हो र हालसम्म करिब ४,००० जनाले समर्थन हस्ताक्षर गरिसकेको जानकारी दिनभएकाे छ । अभियान तीन महिनासम्म निरन्तर चल्नेछ र संकलित हस्ताक्षरहरू प्रधानमन्त्री तथा अन्य सम्बद्ध संवैधानिक निकायमा बुझाइने जनाइएको छ।
रास्वपाले मुलुकमा देखिएको कथित राजनीतिक हस्तक्षेप, संस्थागत भ्रष्टाचार, तथा निष्पक्षतामाथि उठेका प्रश्नहरूलाई जनताको सहयोगमा उठाउने उद्देश्यले यो पहल थालेको बताएको छ।
स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति र सहभागिता देखिएको यो अभियानले आगामी दिनमा देशव्यापी रूप लिन सक्ने संकेत गरिएको छ।