हेटौँडा ८ कमानेमा भोलिदेखि सुरु हुन लागेको ज्ञान महायज्ञको विषयलाई लिएर हेटौँडामा तरङ्ग उत्पन्न भएको छ । तरङ्ग यस कारण कि यस ज्ञान महायज्ञमा धर्मगुरु राधिका दासीले प्रवचन गर्न लाग्नु भएको छ । पछिल्लो समय राधिका दासीको प्रवचन र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।
पछिल्ला दिनहरूमा नेपालमा महिला कथावाचिका तथा धर्म प्रचारकका रूपमा दासी निकै लोकप्रिय हुँदे गइरहनुभएको छ । यसरी चर्चामा आउने व्यक्तिहरू कहिलेकाहीँ आफ्नो वाणिमाथि संयम राख्न नसक्दा विवादमा समेत आउने गर्छन् ।
धरानमा गोरु काटेको विषयलाई लिएर केही दिनअघि प्रदर्शन भएको थियो । सो प्रदर्शनमा देशका विभिन्न भागबाट धर्मगुरु तथा धार्मिक कट्टरपन्थीहरू सहभागी भएका थिए । त्यही वेलामा राधिका दासीले दिएको अभिव्यक्ति विवादमा आएको छ ।
उहाँले बोलेका कुराले अर्काे समुदायमाथि चोट पुगेको र यसरी अभिव्यक्ति दिँदा अरूको भावना र अर्काे समुदाय र सम्प्रदायका भावनाको पनि ख्याल गर्नुपर्ने भन्दै समाजवादी युवा संघले आवाज उठाएको छ ।
उसले भोलिदेखि हुने राधिका दासीको धार्मिक कार्यक्रमप्रति आपत्ति जनाएको छ । यस्ता अभिव्यक्ति नसच्चिएसम्म राधिका दासीप्रति कडा निगरानी रहने चेतावनीसमेत संघले दिएको छ ।
हेटौँडा ८ कमानेको कार्यक्रममा यस्ता प्रकारको अभिव्यक्ति आएमा जेसुकै पनि हुन सक्ने चेतावनी संघले दिएको छ । संघका मकवानपुर जिल्ला अध्यक्ष विवेक घलानले धरानमा दिए जस्तो अभिव्यक्ति हेटौँडाको कार्यक्रममा पनि आएमा जस्तोसुकै पनि अप्रिय घटना हुन सक्ने र त्यसको जिम्मेवार आयोजक तथा स्वयम् राधिका दासी हुनुपर्ने चेतावनीसमेत दिएका छन् ।
यसै विषयमा जिल्ला प्रशासन कार्यालयसँग जिज्ञासा राख्दा कमानेमा हुने कार्यक्रमको बारेमा आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया आएको छ । प्रमुख जिल्ला अधिकारीसँग हामीले फोन गरेर सोध्दा सो कार्यक्रमको बारेमा आफूहरुले कुनै जानकारी नपाएको बताउनुभयो ।
नेपाल विविधताको देश हो । नेपाल धार्मिक विविधता, साँस्कृतिक विविधता, जातीय विविधता, अनेक विविधता छ यहाँ । यही विविधता छ र त देश सुन्दर फूलबारी जस्तो छ । हामीले यही विविधतामा गर्व गर्न सिकेका छौँ । यही विविधतामा रमाउन जानेका छौँ । एकले अर्काे संस्कार र संस्कृतिको आदर गर्न जानका छौँ । एक समुदाय र संस्कृतिको मानिस अर्काे समुदायको संस्कार र संस्कृतिमा रमाउँदा आनन्दको महसुस गर्ने गरेका छौँ । यही हो हाम्रो गौरव गर्न लायक पक्ष ।
कसैको सस्कृतिभित्र गर्नैपर्ने र संस्कृतिभित्र समेटिएको कुरा अर्काे संस्कृतिभित्र नसकेटिएका हुन सक्छ । कसैले बोका मन्दिरमा बली दिनुलाई आफ्नो संस्कृति मानेका होलान् कसैले कुखुरा कसैले अन्य जीवहरू । कसैले रातो टीका लगाउनुलाई आफ्नो संस्कृतिभित्र समेटेका होलान् । कसैले सेतो टीका लगाउनुलाई । यहाँ सबैको आ–आफ्नै मान्यता छ, आ–आफ्नै परम्परा छ । कसैको परम्पराभित्र पर्ने कुरालाई अरू कसैले अपमान ग¥यो जो कोहीलाई पनि नराम्रो लाग्न सक्छ ।
यहाँ तामाङ समुदायले मान्ने परम्परा र संस्कृतिले आफ्नै गौरवपूर्ण इतिहास बोकेको छ । गुरुङ मगरका संस्कृतिको ओज त्यत्तिकै उच्च छ । ब्रह्मण क्षेत्रीको संस्कृतिको आफ्नै महत्व छ । कुनै पनि संस्कृति कुनैभन्दा कम छैन । अनि किन हामी एकले अर्कालाई होच्याएर आफू ठुलो दुष्प्रयत्न गरिरहेका छौँ ।
न तामाङ, मगर, गुरुङ, राई आदिको संस्कृतिलाई अपमान गरेर ब्रह्मण क्षेत्रीको संस्कृति विश्वमा लोकप्रिय हुने हो । न तामाङ, मगर आदिले ब्रह्मण क्षेत्रीको संस्कृति र मान्यतालाई होच्याएर अग्लाइ छुन सक्ने हो । बरु अपमान जसले गर्छ त्यस्ता समुदायका संस्कृति बदनाम हुन थाल्छन् । त्यसैले सबैले सबैको सम्मान गरौँ ।
कसैले कसैको भावनामाथि चोट पु¥याउने अभिव्यक्तिहरू नदिऔँ । अझ धर्म गुरुहरूले यस्ता अभिव्यक्ति दिँदा सचेतता अपनाउनु आवश्यक छ । अर्काेको विरुद्ध अभिव्यक्ति दिइरहँदा समाजलाई कस्तो असर गर्छ भन्ने कुरामा सचेत हुन आवश्यक हुन्छ ।
यही विषयलाई लिएर फेरि अर्काे कुनै संस्कृतिको मानिसले प्रतिशोधको भावना लिनु पनि उचित देखिँदैन । प्रतिशोधले त अशान्ति मच्चिन्छ । हिंसाको जन्म गराउँछ । यही कुराले विकराल रूप लियो भने समाजमा नरसंहार मच्चिन थाल्छ ।
विवादास्पद अभिव्यक्ति दिनेहरू बिस्तारै समाजबाट पलायन हुँदै जान्छन् । आफ्नै वाणिले उनीहरूलाई अधोगतितर्फ लैजान्छ त्यसैले यही विषयलाई लिएर अहिले चेतावनी दिनु र जेसुकै हुन सक्छ है भनेर चेतावनी दिइरहँदा फेरि उही राधिका दासी र चेतावनी दिने समूहमा के भिन्नता रहन्छ र ? सबैले आफूलाई फरक देखाउन सकौँ । एकले अर्कालाई सम्मान गर्न सिकौँ ।