यात्रा वर्णन
हेटौँडादेखि भारतको गोवासम्म

Nigarani Online 318+ समाचार ( )
ज्योति न्यौपाने
२ मंगशिर २०८०, शनिबार


देश जमिन होइन मन र मुटु रहेछ । देश निश्चित भूगोलमा स्थिर भएर होइन, यो त नशा नशामा बग्दो रहेछ । मनको गहिराइमा लुकेर बसेको हुँदो रहेछ । भारत भ्रमणका क्रममा हामीले अथाह विकास देख्यौँ । भव्य सहर तथा विशाल भवनहरू देख्यौँ तर कतै मन रमाउन सकेन । समुद्रको छालमा लुकामारी खेल्यौँ तर अन्नपूर्ण र माछापुच्छ«े हिमालले जस्तो आनन्द दिएन । गगनचुम्बी भवनहरू देखियो तर मन रमाउनुको सट्टा कहालियो । हाम्रै घान्दु्रकको उकालो ओरालो गर्दाको आनन्द मुम्बई र दिल्लीका फराकिला सडकमा हिँड्दा पटक्कै पाइएन । न मुम्बई र गोवामा देखिएका समुद्रले हिमालका हिउँको जस्तो आनन्द दियो न कोशी र नारायणी नदीको जस्तो शीतलता नै ।  आँखाले खोज्ने दृश्य र मनले खोज्ने दृश्य बिल्कुल फरक हुँदो रहेछ । आँखाले नयाँ ठाउँ खोज्यो । नयाँ भूगोलको दृश्यावलोकन ग¥यो । तर मनले खोज्थ्यो, आमाको काख र आफ्नै देशको हावा, आफ्नै देशको पानी र खानेकुरा । 

यस वर्ष हामी दसैँ लगत्तै भारतको विभिन्न स्थान घुम्न गएका थियौँ । हाम्रो गन्तव्यको तयारी साउन महिनामै भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले भारतको मुख्य पर्यटकीय क्षेत्र गोवा जाने प्रस्ताव राख्नुभएको थियो । सो प्रस्तावअनुसार तय भएको थियो भारतको गोवा, मुम्बई, र दिल्ली घुम्ने योजना । हामीले ४३ जनाको लागि रेलको सिट बुकिङ गरेका थियौँ । तर विभिन्न कारणले भ्रमण जाने दिनसम्म ३५ जना मात्र भयौँ । छुट्नु भएका साथीको अभाव यात्राभर खड्किरह्यो । हामी बस्ने रेलको क्याबिनबाट टिकट क्यान्सिल गरेका साथीहरूको अभाव त्यस क्याबिनमा बस्न आउने भारतीयहरूबाट पूर्ति गर्न खोज्यौँ तर माधव गौतम, प्रल्हाद सापकोटा र कृष्ण नेपाली सर त जहाँ पायो त्यही कहाँ पाइँदा रहेछन् र ? आफ्ना मान्छे अरूको देशमा कहाँ भेटिँदा रहेछन् र ? 

३५ जनाको टोली कार्तिक १२ गते विद्यालयमा जम्मा भएर रक्सोलतर्फ लागियो ।  रक्सौलबाट बिहान ८ बजेको रेल छुट्ने हुनाले हामी सबेरै हेटौँडाबाट हिँड्यौँ । रक्सौल पुगेको केही बेरपछि नै मैले महसुस गरेँ,नागरिक र अनागरिकमा कति भेद हँुदो रहेछ  । बिहान ६ बजेतिरै रक्सोल पुगेका कारण शौचालय जाने क्रममै हामीमाथि ठग्ने काम सुरू भइसकेको थियो । शौचालयभित्र छिर्नुअघि १० रुपियाँ भनिरहेको मान्छेले शौचालयबाट बाहिर निस्कँदा मसँग २० रुपिया लिएरै छाड्यो । मैले प्रतिवाद गर्न सकिनँ । लाग्यो म मेरो देशमा पो सुरक्षित हुन सक्छु । मलाई मेरै देशले पो माया गर्छ ।  पराइ भूमिले त कदम कदममा लुट्न खोज्यो । पल पलमा बेच्न खोज्यो । एउटा दुइटा स्थान र विषयमा मात्र होइन, एघार दिनको हरेक पलमा हामीलाई नाङ्गेझार बनाउने प्रयत्न ग¥यो । त्यो रित्याउने प्रयास पैसाको मात्र होइन मनको थियो । भावनाको पनि थियो । 

रक्सोलबाट ८ बजे हामी रेल चढ्यौँ । रेलको यात्रा पहिलो थियो मेरो । हामीसँग आएका मध्ये कतिको नयाँ अनुभव थियो त कतिको पुरानै अनुभव । म उत्साहित थिएँ । मलाई भारत हेर्ने ठुलो रहर थियो । मेरो रेल चढेर यात्रा गर्ने सपना पनि थियो । हामी सबै रेल चढ्यौँ । रेलमा पहिलो पटक पाइलाले स्पर्श गर्दा मेरा पैताला जुरुङ्ग हुँदै थियो । मन पनि फुरफुर गर्दै थियो । रेल थियो सत्याग्रह एक्सप्रेस । रेलको डिब्बा एस २ मा हामी थियौँ हरेराम थापा सर, आशीष पाठक, नारायण पुडासैनी दाइ र म । अन्य साथीहरू अन्य डिब्बामा र क्याबिनमा हुनुहुन्थ्यो । हाम्रो यात्राको अवधि थियो ८ बजेदेखि ३ः ३० बजेसम्म । यो बिचमा हामीले खुब रमाइलो ग¥यौँ । हरेराम सर यसै पनि रमाइलो गर्ने स्वभावको मानिस, त्यसमाथि पनि हाम्रो टोलीसँग उहाँको खुलस्त व्यवहार, रसिक बोली र बारम्बार हँसाइरहने स्वभावले रेल यात्राको नौलो अनुभव मात्र गरिएन आफ्नो परिवारसँग भन्दा पनि निकट भयौँ । हामीले फेर्ने प्रत्येक रेलसँगै हामी सँगसँगै भयौँ । त्यही कारण पनि यात्रामा कुनै पल पनि चिडचिडाहटको महसुस गर्नु परेन । हरेराम सर हाम्रो डिब्बामा पर्ने जोसुकैसँग पनि निकट भइहाल्नुहुन्थ्यो । उनीहरूलाई हँसाउनुहुन्थ्यो । रक्सोलबाट पुनः गोरखपुरसम्म फर्केर आइपुग्दा हामीसँग पर्ने हरेक भारतीयहरूसँग कुरा गरिहाल्नहुन्थ्यो । 

मान्छेले एक अर्काको भाषा बुझ्न कठिन भए पनि भाव तत्काल बुझ्दो रहेछ । मनले मनसँग कुरा गरेपछि भाषा त केही पनि होइन रहेछ । मलाई यस्तै लाग्यो । हाम्रो डब्बामा परेका भारतीयहरूसँग हामीले कुरा ग¥यौँ । उनीहरूका कुराहरू सुनाए । सुनायौँ हामीले पनि हाम्रो भूमिको महिमा । उनीहरू आफ्नो देशको बारेमा गुनासो गर्थे । उनीहरू आफ्नो नेतृत्वका कमजोरी हामीलाई सुनाउँथे । तर हामी हाम्रो देशका नेतृत्वका गुनासाहरू आफूभित्र गुम्साउँथ्यौँ । बरू देशको र नेतृत्वको बखान छाँट्थ्यौँ । किनकि गुनासा त आफ्नासँग पो छ । छिमेकीसँग आफ्नै अभिभावकको गुनासो गरेर खुइलिनु कहाँ थियो र ! रक्सोलबाट अगाडि बढ्दा मलाई त्यो नयाँ भूमि एक पटक नियाल्न मन लाग्यो । रेलको झ्यालबाट पर परसम्म देखिने समथर फाँट आँखा तन्काएर हेरेँ । त्यहाँ जङ्गल, विशाल खेतीयोग्य र खेती गरिएका फाँट, रेलका लिकको दृश्यको भरपुर अवलोकन गरेँ । मेरो देशले यत्तिको खेती गरेर कृषिमा आत्मनिर्भर हुने कहिले होला ? बाँझो जमिनलाई यसरी भारतीयहरूले जस्तै उत्पादन गर्ने कहिले होला ? कसले गरिदिने यी सबै कुरा ? न नेपालका युवा वर्गमा आफै उद्यमी बन्ने चाहना छ न राज्यले नै युवालाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउँछ । 

हामी अरूको दास बन्न मन्जुर हुन्छौँ, परनिर्भर हामीलाई स्वीकार हुन्छ तर आत्मनिर्भर हुने कुरामा विश्वास नै छैन । आत्मनिर्भर हुन सकिन्छ भन्ने कुरामा सरकारले विश्वस्त तुल्याउनै चाहँदैन । यही त छ हाम्राे बिडम्बना । 

भारतका विशाल फाँटहरूमा कतै कपास खेती गरिएका आँखाले हेरेर नभ्याइने जमिन त कतै धान, गहुँ, मकै, उखु, लसुन प्याजका विशाल फाँटहरू थिए । 

हामीले भारतका ती फाँट बिर्साउने तराईको फाँट त पाएका छौँ तर त्यो फाँट काठमाडौँले कहिल्यै देख्दैन । प्रदेश सरकार, स्थानीय सरकार पनि नदेखेझैँ गर्छ । त्यहाँबाट आत्मनिर्भर हुनुपर्छ भनेर कहिल्यै लागि पर्दैन  । सबै सरकारलाई लुटको भन्दा पो प्यारो  । यहाँ त भ्रस्टाचारको खेतीको मलजल र संरक्षण गरिन्छ । यस्ता उत्पादनमूलक कुरामा समय लगाएर किन टाउको दुखाउँथे हाम्रा सरकारहरू ?  

काठमाडौँ सत्ता जोगाउन दिल्लीको शरण पर्न तयार छ । विदेशी सामु लम्पसार पर्न तयार छ तर आफ्नो भूमिलाई हेर्ने फुर्सद उसलाई कहाँ छ र ? त्यही भारतले गरेको खेतीले हामीसमेत पालिँदा र आफ्नो जमिन बाँझो बस्दा लाज नमान्ने सरकारसँग गुनासो गर्नु हाम्रो पनि कमजोरी होला सायद । मन चरक्क चिरिएर आयो तर गुनासो गर्ने कोसँग ? 

त्यस यात्राको दौरान केही भारतीयहरू हामीसँग थिए । कोही थिए बोलिहाल्ने स्वभावका र कोही आफ्नै धुनमा व्यस्त हुन्थे । एक जना व्यापारी जस्तो देखिने मोटो मानिसले हामीलाई नेपाली भनेर बुझेर हामीसँग कनीकुथी नेपालीमा कुरा गर्न थाल्यो । हामीले उसले भनेका कुराहरूको जवाफ दियौँ । रक्सौलमा धेरै वर्ष व्यापार गरेकाले ऊ नेपाली भाषा धेरथोर जान्दो रहेछ । त्यो मानिस बेतियासम्म हाम्रो साथी बन्यो । गोरखपुरसम्म पुग्दा केही फरक अनुभव गरियो । रेलभित्र तेस्रो लिङ्गीहरू थपडी बजाउँदै पैसा माग्दै आउँथे । मैले पैसा साटेको थिइनँ । हरेराम सरले एक दुई र पाँचका केही सिक्का सङ्कलन गर्नुभएको रहेछ । मलाई पनि केही पैसा दिनुभएको थियो । एक दुई ठाउँमा त्यो पैसा दिइयो । अन्त्यमा एक रुपियाँ मात्र बाँकी थियो । उनीहरूमध्ये एउटा हाम्रो डिब्बामा छि¥यो । पैसा माग्न थाल्यो । अन्य सरहरूले दिएपछि मैले बाँकी एकको सिक्का दिन खोजेँ तर उसले मलाई नै फिर्ता गरेर भुतभुताउँदै गयो । 

भारत विशाल जनसङ्ख्या पालेर बसेको देश, यहाँ अनेक प्रकारका मानिसहरू बस्दा रहेछन् । यस्ता कुरा मैले हाम्रो देशमा देखेको थिइनँ । माग्नेहरूको भिड देख्दा लाग्थ्यो भारतले अर्थतन्त्रमा विश्वका शक्तिशाली देशको दाँजोमा आफूलाई उभ्याउन त खोजिरहेको छ तर यस्ता मानिसको व्यवस्थापनमा चाहिँ किन बेवास्ता गरेको होला ? 

 हामी सबैले चुपचाप बस्यौँ । उनीहरू पनि एकआपसमा झगडा गर्दै थिए । सायद डिब्बा भागबण्डा लगाएका हुँदा हुन् एकले अर्काका डिब्बामा पुगेर पैसा मागेको विषयमा विवाद गरेका थिए यस्तै यस्तै लाग्यो हामीलाई । 

हामीले त्यही बिचमा घरबाट बनाएर लगेको मकै, बदाम अचारलगायतका खानेकुरा निकालेर खान थाल्यौँ । हरेराम सरले सबैलाई बाँढ्नुभयो । बिहान ७ बजे रक्सोलको दुर्गन्धित सडकपेटीमा पकाएका भात दिँगमिँग मानीमानी दुईचार गाँस खाइएको थियो । मलाई त्यहाँ वरपरका अवस्था देखेर खान मन त थिएन तर सबैले खाएको देखेपछि लाग्यो मैले पनि खानै पर्छ होला । बाटोमा कतै खाना खान पाइने छैन । चार बजेसम्म खाना नखाई बस्न पनि गारो हुन्छ नै । जे त पर्ला भनेर भारतीय पचास रुपियाँका खाना खाएको थिएँ ।  खाए जस्तो गरेको हुनाले त्यो खानाले हामीलाई १२ नबज्दै छाडिसकेको थियो । भोक लाग्न सुरू गरिसकेको थियो । 

सबैलाई खानेकुरा बाँढिहाल्ने, कुनै कुरा पनि आफू मात्र नखाने हरेराम सरको स्वभावले वास्तवमै भावुक बनाउँथ्यो  । उहाँले सबैलाई मकै बदाम ठेकुवालगायतका खानेकुरा बाँढ्नुभयो । निकै रमाइलो गर्दै पौने चार बजेतिर हामी गोरखपुर सहर पुग्यौँ । रेलबाट ओर्लिएपछि अर्काे नौलो भूमिलाई पहिलो पटक मेरा पाइताले चुम्बन गर्दै थियो । मेरा पैताला आफ्नो भूमिको चुम्बनमा जति रसिक हुन्छ त्यस्तो त रत्तिभर महसुस गरिनँ मैले । गतवर्ष घान्द्रुक जाँदा जस्तो रसिलो स्पर्श कहाँ पाउनू ? 

हाम्रो गोरखपुरदेखि मुम्बईसम्मको तीस घन्टे रेलको यात्रा सुरु हुँदै थियो रातको १०ः३० बजेबाट । त्यसैले हामीले केहीबेर गोरखपुर घुम्ने निश्चय ग¥यौँ । अटो चढेर गोरखनाथ मन्दिरसम्म गयौँ । भारतीय भाषामा लेखिएका भित्ताका साइनबोर्डहरू पढ्दै हँसी मजाक गर्दै मन्दिरसम्म पुगियो । ‘मोबाइल सँप’, ‘भारतीय बँक’ लेखिएका शब्दहरू पढेर हाँस्दा कम्ता रमाइलो भएन । हरेराम सरले ती शब्द उच्चारण गर्नुहुन्थ्यो हामी पेट मिचीमिची हास्थ्यौँ । सायद भारतीयहरू पनि हामीले लेखेको बैङ्क, सप जस्ता शब्द देखेर यस्तै हसीमजाक गर्दा होलान् । 

गोरखनाथ मन्दिर गोरखपुरकै प्रसिद्ध मन्दिर थियो । गोरखनाथ मन्दिर पुगेपछि फोटो खिच्यौँ । भारतमा मन्दिरहरूको सुरक्षा व्यवस्था देखेर आश्चर्य लाग्यो । मन्दिरको हाताभित्र प्रवेश गर्दा नै कडा चेकजाँच हुँदो रहेछ । हामी सबै जना चेकजाँच गराएर भित्र छि¥यौँ । भारतीय हिन्दु देवीदेवता प्रति ठुलो आस्था राख्छन् । हामी पनि आस्था राख्छौँ  तर पशुपतिनाथसँग जस्तो आत्मीयता त्यहाँ मैले रत्तिभर पनि पाइनँ न आनन्द नै ।  मन्दिरमा जति कडा सुरक्षा व्यवस्था थियो त्यो बढी त्यहाँको सरसफाइ पनि । त्यो सफा मन्दिर हाताभित्र हामीले आनन्दको अनुभव ग¥यौँ । यसै पनि मलाई मन्दिरभित्र प्रवेश गरेपछि असाध्यै आनन्दको अनुभव हुन्छ नै । 

मन्दिर दर्शन गरेर फेरि अटो चढेर रेल स्टेशनसम्म फर्कियौँ । म र विव्यस सदस्य सुरेश बेरोजगार अटोको अगाडि चालकसँग कोचिएर बस्यौँ । अटो ड्राइभर रहेछ गफाडी । उसका बारेमा सुरेश जीले धेरै सोधीखोजी गर्नुभयो । उसले केही नलुकाई सबै कुरा बतायो । हामीलाई लाग्थ्यो भारतमा धेरै कुराको सुविधा छ । त्यहाँ सबै नागरिक सन्तुष्ट छन् । सबैले आफ्नो देशका नेतृत्वलाई सम्मान गर्छन् तर होइन रहेछ । अटो ड्रइभरले गोखपुरको अवस्था र व्यवस्थाप्रति असन्तुष्टिका तातो बाफ सुस्केरा हाल्यो । उसका मनभित्र गुम्सिएका असन्तुष्टिहरू अटोले फ्याँकेको धुँवाभन्दा पनि पिरो थियो । उसले उत्तर प्रदेशको अझ गोरखपुरका स्वास्थ्य, शिक्षा, रोजगारी र उद्योगधन्दाको पीडादायी अवस्था सुनायो । 

 हामीले सुनिदियौँ । हामीलाई त्यहाँका नागरिकको अझ भनौँ भुइँ मान्छेका अवस्थासँग परिचित गरायो । उसले प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर प्रहरीहरूप्रति समेत असन्तुष्टि व्यक्त ग¥यो । यस्तै असन्तुष्टि फर्कने क्रममा गोरखपुरमै अर्काे अटो ड्रइभरले पनि गरेको थियो । उसले गोरखपुरको प्रहरी असाध्यै घुस्याहा भएको सुनाउँथ्यो । लकडाउनको बेलामा घन्टी बजाउन लगाएर घरभित्र बस् भन्ने मोदी सरकारले निम्न वर्गका लागि केही नगरेको गुनासो ग¥यो । अस्पतालले ठग्ने गरेको सुनायो । 

उसले नेपालको प्रशंसा ग¥यो । नेपालका प्रहरीको गुणगान गायो । हामी केहीछिन फुलेल भयौँ । र ठान्यौँ हामीभित्र पनि असन्तुष्टिका चरम ज्वारभाटा त छन् नि तर हामीले  हाम्रो देशको बारेमा भनेर के फाइदा ? हाम्रो असन्तुष्टि आफ्नै देशका अखबारमा लेख लेखेर पोखौँला । हामी आफ्नै दाजुभाइसँग गरौँला । किन विदेशीसँग गुनासो गर्ने ?  हामीले चुपचाप उसका कुरालाई चाख मानी मानी सुन्यौँ मात्र ।   

गोरखपुरको भिडभाड,साँझको झिलिमिल दृश्यसँगै होटलमा गएर खाना खायौँ । अर्काको देशको खाना र आफ्नो देशको खानाको भिन्नता मनले त्यति बेलादेखि नै छुट्याउन थाल्यो । स्वदेशमा त गाँस गाँसमा स्वाद भेटिन्छ । मेरो देशको भातमा प्रत्येक सितामा अमृत भेटिन्छ । तर भारतका खानामा न कुनै रस भेटेँ न कुनै स्वाद नै । त्यहाँका भातभन्दा त यहाँको गुन्द्रुक र ढिँडोको स्वादले मन अघाउँछ । एघार दिनसम्म कहिल्यै सन्तुष्ट भइएन । न पेट अघायो न मन । 

खाना खाएर हामी रेल स्टेशनमा गएर रेलको प्रतीक्षा ग¥यौँ । लोकमान्य तिलक टर्मिनल एक्सप्रेसले हामीलाई मुम्बई पु¥याउने जिम्मेवारी लिएको थियो । गोरखपुरमा मान्छेको कोलाहल र निस्सासिँदो अवस्था थियो । मान्छेको दौडादौड र घँचेडा घँचेड देख्दा लाग्थ्यो हामी त ऋषिमुनीहरूको तपोवनमा पो बस्दा रहेछौँ । वास्तवमै नेपाल जत्तिको शान्त तपोवन कहाँ पाइन्छ र ? 

राति ९ः१५ बजेतिरै हामी रेलमा आफ्नो सिटमा गएर बस्यौँ । अबको तीस घन्टा त्यहीँ बस्नु थियो ।   राति भएको हुनाले रेल चढेपछि हामी सुत्यौँ र निदायौँ । निरन्जन ढकाल सर पनि हामीसँगै हुनुहुन्थ्यो । राती १२ बजेतिर हामीले क्यान्सिल गरेको सिटमा दुई जना वृद्ध महिलाहरू आएर बसे । उनीहरू भोलिपल्ट दिनभर हाम्रो साथी बने । 

रेलभित्र बारम्बार चाय बोलो, चाय भन्दै आउँथ्यो । झुक्किएर उसको मुखमा हे¥यो भने ऊ केहीबेर पर्खन्थ्यो । सायद उसलाई लाग्दो हो हामीले केही भन्न खोज्दै छौँ । अर्थात् चिया खान खोज्दै छौँ । दुध हालेको चिया भनेपछि हुरुक्क हुने मलाई भारत छिरेपछि चियासँगै मेरो रिसिइबी नै भएको जस्तै भयो ।  केको दुध होला ? अझ सानो प्याकेटबाट निकालेको धुलोमाथि पानी हालेर दिँदा दुधको चिया नै बन्दो रहेछ । त्यसपछि त चिया देख्ने बित्तिक्कै हुलुक्क आउन थाल्यो । कहिले खाजा लिएर आउँथे । स्टेशनमा रोक्ने बित्तक्कै स्थानीय व्यापारी छिर्थे र मनलाग्दीसँग खानेकुराहरू हामीलाई भिडाउन खोज्थे । मैले ११ दिनको यात्रामा कुनै दिन पनि त्यहाँ चिया र खाजा किनेर खाइनँ । मात्र दात भात रोटी, आफूले घरबाट लगेको खानेकरा र फलफूल खाएँ ।  

हामीसँगै यात्रामा रहनुभएका रीता खनाललगायतका टोलीलाई रेलकै क्यान्टिनको खाना भन्दै बाहिरका व्यापारीले खाना भिडाएर गयो भन्ने सुन्यौँ किनकि हामी फरक डिब्बामा थियौँ । त्यहाँ पनि हामी ठगिएका थियौँ । मैले पहिला नै उल्लेख गरिसकेँ कि हामी नठगिएको कुनै पल नै हुँदैनथ्यो । 

हामीसँग बस्न आइपुगेका वृद्ध महिलाहरूसँग हाम्रो आत्मीयता एकैछिनमा भयो । हामीले खाजा खाने बेलामा उनीहरूलाई मकै दियौँ । उनीहरू निक्कै खुसी मानेर खाए । उनीहरूले पनि चिकेन बनाएर ल्याएका रहेछन् । हामीलाई दिन खोज्दै थिए । हामीले खान मन छैन भनेर टा¥यौँ । मेरै मोबाइलबाट उनीहरूले घरमा छोरालाई फोन समेत गरे । उनीहरूलाई हरेराम सरले हँसाउनुहुन्थ्यो । उनीहरू बेस्सरी हाँस्थे । घरमा फोन गर्दा हाम्रो तारिफ सुनाउँथे । 

भोलिपल्ट  बिहान हामीसँगै आएर एक जना आरपीएफको प्रहरी हवल्दार आएर बस्यो । ऊसँग निरन्जन सरले कुराकानी गर्नुभयो । उनीहरूको पेशा, उनीहरूले देशलाई हेर्ने दृष्टिकोण, लगायत विभिन्न कुराकानीहरू भए । साँच्चै मानिस जहाँ बसे पनि भावना त एकै हुँदो रहेछ । नेपालका बारेमा उसलाई खासै जानकारी रहेनछ । तर पनि भन्दै थिए नेपालमा त सामान सस्तो पाइन्छ रे । नेपाल घुम्न ठेलो रहर छ । हामी भारतमा सस्तो पाइने ठान्थ्यौँ तर उनीहरू नेपालमा सामान सस्तो पाइने ठान्दा रहेछन् । सबैलाई आफ्नो भन्दा अरूको देशको चासो हुनु स्वाभाविकै हो । त्यही चासो थियो र त हामी पनि गोवासम्म जान हिँडेका थियौँ ।  

हामीलाई उसका कुरा चाख लाग्थ्यो । हाम्रो कुरा उसलाई पनि चाख लाग्दो रहेछ । एक अर्काेका  पेशा, घरायसी अवस्था र परिवारका बारेमा सुन्यौँ र सुनायौँ । शिष्टता भद्रता देखेर लाग्यो रेलका प्रहरी त यस्ता पो हुँदा रहेछन् । 

ऊ ओर्लिएपछि अर्काे प्रहरीको परिवार नै हामी नजिक आएर बस्यो । उनीहरू मध्य प्रदेशका मुख्य सहर झाँसीमा बस्दा रहेछन् । परिवारसहित आफन्तको घरबाट फर्किएका रहेछन् । आफ्ना दुई छोराको पढाइ, प्रहरी जागिरको सुविधाका बारेमा उनीहरूका कुरा पनि रमाइलो मानेर सुनियो । झाँसीका रानी भन्ने कतै सुनेको कुरा सुनायौँ । उनीहरू मुस्कुराए । उनीहरूले झाँसीको अवस्थाका बारेमा थोरै वर्णन गरे । सरकारले नै उनीहरूका बालबच्चाको पढाइका लागि खर्च व्यहोर्ने कुरा सुनाए । प्रहरीकी श्रीमतीले पनि शिक्षक बन्नका लागि आफूले तयारी गरिरहेको बताई ।  निरन्जन सर र हरेराम सरले उनलाई शिक्षक हुन योग्य व्यक्ति देखेको बताउनुभयो । ऊ खुसी भई ।  

झँसी पुगेपछि उनीहरू ओर्लिए । मुम्बईदेखि लखनउसम्म विश्वकप क्रिकेट हेर्न आएका दुई युवक पनि हामीसँगै थिए । ८ घन्टाको क्रिकेट खेल हेर्न ५० घन्टा रेल चढेको उनीहरूले सुनाउँदा भारतमा क्रिकेट प्रतिको मानिसको कति आकर्षण छ भन्ने महसुस भयो । त्यति मात्र होइन भारतको खेल भएका दिन हरेक मानिस मोबाइलमा खेल हेर्न व्यस्त देखिन्थे ।  

भोलिपल्ट बिहान ५ बजेतिर मुम्बई पुग्दा ३० घन्टे रेल यात्राले बिट मार्दै थियो । लोकल रेल चढेर हामी होटलमा पुग्यौँ । कमल पाल अधिकारी, सुदीप पौड्याल सरलगायतका केही साथीहरूले होटल खोज्नुभयो । हामी होटलमा गएर बस्यौँ र दिनभर एउटा बस रिजर्भ गरेर मुम्बइको मुख्यमुख्य स्थानको अवलोकन ग¥यौँ । केहीबेर फेरीमा चढेर अरेबियन माहासागरको छेउछाउ घुम्यौँ ।, गेट अफ इण्डिया, होटल ताज, मरिन डाइभलगायतका विभिन्न स्थानलाई हेर्ने अवसर मिल्यो । हामीसँग हिँड्ने गाइडले विभिन्न ठाउँको जानकारी दियो ।  यो भारतीय चर्चित कालाकारहरू घर भनेर बारम्बार देखाउँथ्यो । 

हामी जहाँ जहाँ पुग्यौँ त्यहा त्यहाँ एकदुई ओटा फोटोे खिच्दै हिँड्यौँ र फेसबुकमा पोस्ट्याउन पनि कन्जुस्याइँ गरेनौँ । विशाल विशाल भवनहरू हेर्दै त्यति माथि मानिस कसरी बस्न सकेका होलान् भन्दै हामीले गफ ग¥यौँ । रात परेपछि ति विशाल भवनमा बत्ती बलेको देख्दा पहाडमा बत्ति बलेको हो कि भनेर झुकिन्थेँ म । 

मुम्बईले विशाल विशाल भवनहरू आफ्नो छातिभरि ठड्याएर गर्व गरिरहँदा मेरो देशले स्वर्ग समान पहाड र हिमाललाई सजाएको सम्झिएँ । मुम्बईले विशाल भवनबाट कतिन्जेल आकर्षित गरिरहला र ? मेरो देशले पहाड र हिमालका माध्यमबाट सृष्टि रहुन्जेल गर्व गरिरहन्छ । त्यो बनावटी थियो मेरो देशको प्राकृतिक । 

दिनभर घुमेपछि बेलुका निकै थाकियो । खाना खाएर सुत्यौँ । होटलहरूको अवस्था देख्दा मनले खाना खान मानेन । मैले जुनारको रस र केरा खाएर टारेँ । सुरेश जीले पनि जुनारको रस पिउनुभयो र आइसक्रिम खानुभयो । भोलिपल्ट राति ११ बजेको रेलबाट गोवा जाने टिकट हुनाले हामीले आ–आफ्नो सुरमा मुम्बई घुम्यौँ । निरन्जन सर, हरेराम सर, गुरु शर्मा सर, पार्वती मेडम सुरेश बेरोजगार, सीता अधिकारी मसहित केही व्यक्ति मुम्बईका बजार घुम्यौँ । अन्य साथीहरू समुद्रमा जहाज चढेर अन्य स्थान घुम्न जानुभएछ । हामीले रेल स्टेशनमा प्रति ब्याग ३० रुपियाँ तिरेर आ–आफ्नो ब्याग राखेर घुम्न निस्केका थियौँ । दिनभर बजार घुमियो । सहरमा पेटी पेटीमा रखिएका कपडा, हेरियो । पसलमा गएर केही कपडा किनियो । मैले र सुरेशजीले सर्ट, बेल्ट र ब्याग किन्यौँ हेड सर र हरेराम सरलगायत सबैले केही न केही खरिद ग¥यौँ । साँझ परेपछि सडकभरी फिँजाएका कपडा र अन्य समान हेर्दै मोल गर्दै हिँडियो र कतिपय स्थानमा हामी ठगियौँ पनि । 

साँझ परेपछि त्यहीँ खाना खाएर रेल स्टेसनमा आयौँ । पैसा तिरेर राखिएका हाम्रा ब्यागमध्ये केही मुसाले काटेछ सुदीप सर, हरेराम सर, अशोक आले र मेरो ब्याग मुसाले काटेको रहेछ । दिउसो किनेको नयाँ ब्यागमा सामान रखेर हामी रेल चढ्यौँ । मेरो ब्यागमा राखेको पानीको बातेल नै काटेर ब्यागका सबै कपडा भिजेको रहेछ । धन्न खानेकुरा र कपडा भने जोगिएको थियो ।  

कोकन कन्या एक्सप्रेसको एस नाइन डिब्बामा हामी बस्यौँ । स्लिपर कक्षमा थियौँ । त्यसमा चढेपछि हामी सुत्यौँ किनकि रातको ११ बजिसकेको थियो । १२ बजेतिर अर्काे समूह आयो र हामीलाई उठायो । सिट नम्बर फरक पारेर म सुतेको रहेछु । हुन त हाम्रो टिकटमा मेरो नाममा जुन सिट नम्बर लेखिएको हुन्थ्यो टीटीसँग फरक नम्बर हुँदो रहेछ  । कसरी फरक भयो बुझ्ने कोसिस नै गरिएन । मैले सिट फेरेर सुतेँ । खासै निद्रा लागेन । भोलिपल्ट बिहान ४ः३० बजेदेखि नै हामी कुराकानी गर्न थाल्यौँ । तर हामीसँग परेको भारतीयलाई मन परेनछ । उसले झिँजो मानेर रिसाएको जस्तो गथ्र्याे तर हामीले मतलब राखेनौँ । उसले हामीलाई हेच्याएको भावमा नेपालीहरू आफ्नो कम्पनीमा सुरक्षा गार्ड रहेको सुनायो । हरेराम सर पनि के कम नेपालमा पनि धेरै भारतीयहरूले फोहोर मैला उठाउने काम गर्छन् भनेर सुनाइदिनु भयो । त्यसपछि उसले आफूले कामलाई नहोच्याएको सबै कामको समान महत्व हुन्छ भन्दै सन्तुलित हुन खोज्यो । रेल विभिन्न स्थानमा सुरुङमा प्रवेश गर्दै निस्कदै गर्दै थियो । 

हाम्रो अन्तिम स्टेशन मटगाउँ रेवे स्टेसन भए पनि थिविम स्टेशनमै ओर्लियौँ किनकि त्यहाँबाट हामीले बुकिङ गरेको होटल नजिक पर्दाे रहेछ । त्यहाँबाट झोलाहरू घिसार्दै बसपार्कसम्म पुगियो । लोकल बस चढ्यौँ । लोकल बसले पनि हामीलाई तुच्छ व्यवहार ग¥यो । भाडा उठाउने क्रममा सबैको एकमुष्ट भाडा चाहिन्छ भन्दै रुखो स्वरमा ड्राइभरले बोलेको सुन्दा लाग्यो पाहुनाप्रति रुखो व्यवहार गर्ने गोवा कसरी पर्यटकीय क्षेत्र बनेको होला ? भारतीयहरू त अतिथि देवो भवःमा विश्वास गर्छन् भन्ने लागेको थियो तर उनीहरूलाई पाहुनासँग कुनै सरोकार थिएन मात्र थियो कमाउनु र ठग्नु । 

पाहुनाको सम्मान गर्ने हामीलाई उनीहरूको बोलीवचनले नरमाइलो लाग्यो । भाडामा पनि हामी ठगिएछौँ । अरूसँग बिस बिस रुपियाँ भाडा लिएको त्यस बसले हामीसँग तिस रुपियाँ लियो । त्यति मात्र होइन भोलिपल्ट रिजर्भ गरेको बसलेसमेत हामीमाथि अन्याय नै ग¥यो ।  गोवा सुन्दर त रहेछ । समुद्रको तिरमा बसेको र हरियाली बगैँचा जस्तै देखिने ठाउँमा आकर्षक भवन बनाएर बसेका सुखी जस्ता देखिने गोवाबासीको बोली र व्यवहार अत्यन्तै रुखो  । प्रकृतिले त्यति सुन्दर बनाएको त्यो भूमिका मानिसको स्वभावलाई किन त्यति जर्जर बनाएको होला ? 

हामी होटलमा पुगेर समान राखेपछि समुद्रका किनारमा गयौँ । नुनिलो पानीका छालहरूमा लुकामारी खेल्यौँ र रमायौँ । वरिपरि मानिसको भिड थियो । साँझ परेपछि बागाबिचमा गइयो । त्यहाँको रात्रीकालीन वातावरण नितान्त भिन्न थियो । डिस्को बारहरूमा मानिस रमाइरहेका थिए । कोही कोही त हामीलाई पनि बोलाउन आइपुग्थे तर हामी समुद्रको किनारै किनार हिँडिरह्योँ । बालुवामा खुट्टा दुखाएर हिँडियो । 

भोलिपल्ट गाडी रिजर्भ गरेर मुख्य मुख्य ठाउँहरू घुम्यौँ । त्यो घुमाइ जति आनन्ददायक होला भन्ने सोचेको थिएँ त्यति नभएको देख्दा असाध्यै खल्लो लाग्यो । हामीले इलाम घुम्यौँ, हलेसी पुग्यौँ, स्वर्गद्वारी पुग्दा जति स्वर्गीय आनन्द भएको थियो त्यसको तिलको दानाजति पनि आनन्द नआउँदा लाग्यो जननी जन्मभूमिश्च स्वर्गादपि भनेर त्यतिकै भनिएको कहाँ हो रहेछ र ? 

धूर्त स्वभावका मानिसहरू न दया माया र सहानुभूति थियो न सहयोगको भावना नै । सायद पर्यटकीय क्षेत्रका मानिसले यस्तै तालिम पाए थिए होलान् । हामीले चित्त बुझायौँ । भोलिपल्ट बिहान हरेराम सर म फेरि समुद्र किनारमा गएर पानीमा रमाउँदै भिडियो बनायौँ । हरेराम सरले ‘यहाँको वर्णन गर्नु म भिडियो खिचिदिन्छु’ भन्नुभयो मैले पनि हुन्छ नि त भनेँ । भिडियो बनाएपछि कस्तो राम्रो भयो भनेर सरले भनेपछि मैले फेसबुकमा पोस्ट गरिदिएँ । 

मेरो बानी हौसिहाल्ने छ । अरूले राम्रो भनिदिएपछि जस्तासुकै भएपछि मख्ख पर्ने बानी नै सायद मेरो कमजोरी होला मैले पोस्ट गरेको भिडियोले मलाई नै लज्जाबोध गरायो । म मेरो देशको वर्णनमा चुकेको छु । मेरो देशका यस्तो भिडियो बनाएर संसारलाई सुनाउनुपर्ने मान्छे तर जहाँ मेरो मन रत्तिएको थिएन त्यहाँको वर्णन गर्दा पछुतो भयो तर हटाउन खै कुन मनले हो दिएन । कार्तिक १८ गते दिउसो ३ ः ३० बजे हाम्रो दिल्लीका लागि रेलको टिकट थियो त्यसैले हामीले बेलुका नै काजु र अन्य समान किन्न गयौँ । काजु पनि किनियो तर त्यसमा हामी ठगिएछौँ । ४ सय रुपियाँमा किनिएको काजु घरमा ल्याएपछि फ्याँक्नुप¥यो । 

खाने कुरामा ठग्नु समान खरिदमा नक्कली सामान भिडाउनु, कपडा किन्दा ठगिनु यस्ता ठगाइले हामीलाई एउटा पाठ सिकायो विदेशी भूमिमा केही खरिद गर्नु अघि धेरै धेरै कुराको अध्ययन गर्नुपर्ने रहेछ । जे जस्तो आफ्नै देशमा सामान किन्नु पर्ने रहेछ । हामीले हाम्रै दाजुभाइले गरेको व्यापारलाई प्रोत्साहन गर्नुपर्छ । दुई पैसा बढी परे पनि आफ्नै दाजुभाइका सामान खरिद गर्नुपर्ने रहेछ । 

भारत माग्नेलाई रेलमा, सडकमा, पर्यटकीय क्षेत्रमा, मन्दिरमा जताततै राखेर बस्दो रहेछ । उसले ति माग्नेहरूबाट पनि विदेशी पैसा आर्जन गर्न खोजेको हाला सायद  । त्यति मात्र होइन मिल्काउने बेला भएका कपडाहरू प्याक गरेर झुक्याउँदै पैसा कमाउँदो रहेछ । भारत बसुधैव कुटुम्बकम्को मन्त्र जपे जस्तो गर्दै ठगहरूको संरक्षण गर्दाे रहेछ । 

कार्तिक १८ गते दिनभर दक्षिण गोवाको विभिन्न स्थान चर्चको अवलोकन गर्दा कहिले ३ बज्ला जस्तो मात्र भयो । किनकि त्यो ठाउँबाट जतिसक्दो चाँडो उम्कन मात्र मन लागिरह्यो । दिउसो ३ बजे मटगाउँ रेल स्टेशनमा आइयो । पानी किन्ने क्रममा पसलेले मेरो फोटो खिच्यो । उसले मेरो अनुहार गोवाको सीएमको जस्तै भएको सुनायो । ३ बजेर ४० मिनेटमा गोवा एक्सप्रेसको थ्रि ई डिब्बाको क्याबिनमा गएर बस्यौँ । यहाँबाट ४० घन्टासम्म रेलको यात्रा थियो । पुणेसम्म एउटा टोली थियो । त्यसपछि पुणेबाट अर्काे एउटा परिवारसहितको टोली हाम्रै क्यबिनमा आएर बस्यो । ऊ आइटी इन्जिनियर रहेछ । उनीहरूसँग दिल्लीसम्म सँगसँगै भइयो । निरन्जन सर र हरेराम सरले उनीहरूसँग कुराकानी गर्नुभयो । धर्म, संस्कार र संस्कृतिलाई उनीहरू सम्मान गर्ने उनीहरूले हामी शिक्षक भनेर थाहा पाएपछि धेरै राम्रो व्यवहार गरे ।  तर मलाई त्यहाँ बसिरहन मन लागेन भोलिपल्ट दिनभर म सुदीप सर, गुरु सर, आनन्द सर, जेबिस सरको समूहसँग आएर बसेँ । गुरुप्रति उनीहरू आदर कत्तिको रहेछ भन्ने कुरा दिल्लीमा छुटिने बेलामा बालबालिकाहरू गोडामा छुन लगाएबाट पनि स्पष्ट हुन्थ्यो । हरेराम सरले उनीहरुले दिएका खानेकुरा खानुभयो  र उनीहरूलाई पनि नेपालमा बनाएर लगेको मुलाको अचार दिनुभयो ।  

दिल्ली उत्रिएपछि हामीले पहिला नै बुकिङ गरेको होटलमा गयौँ । त्यस दिन नेपालीको होटल भेटियो र त्यही होटलमा गएर खाना खायौँ । त्यस दिनको खानाको स्वाद वास्तवमै नेपालको जस्तै लाग्यो । पेट पनि अघायो नै मन पनि सन्तुष्ट भयो । 

दिनभर दिल्लीको चाँदनी चोक घुमियो । मान्छेको भिड, कोलाहलपूर्ण वातावरणले मन यति अशान्त भयो । निसास्सिएर कहिले त्यहाँबाट उम्कनु जस्तो लाग्यो । दीपावलीको समय भएर होला सायद किनमेल गर्नेको निकै भिड थियो । हामीले पनि केही सामान खरिद ग¥यौँ । त्यो बजारमा निकै चहल पहल थियो । विभिन्न ठाउँबाट आएका मानिसहरूको भिड थियो । ठेलामा, बाटोमा, पसलमा जताततै कपडा, जुत्ता, ब्याग, खानेकुरा फलफूलको व्यापार भइरहेको थियो । हामीले त्यहीँ मानिसको कोलाहल र निसास्सिँदो वातावरणमा केही क्षण रमाउने कोसिस ग¥यौँ । केही समान पनि किनेर साँझ होटलमा आयौँ । 

केही साथीहरू दिल्लीको रेलमा चढेर अनुभव बटुल्नु भएछ । भारतले नागरिकलाई सुविधा दिएको छ । यातायातमा त्यहाँ नागरिक हामीले भन्दा धेरै सुविधा भोग गरेका रहेछन् । उनीहरूलाई स्थानीय लोकल बसहरूले ६ रुपियाँ र रेलले पनि थोरै पैसामा सहर घुमाउँदो रहेछ । 

विद्यालयकी सल्लाहकार रीता खनाल भन्दै हुनुहुन्थ्यो ‘मैले मानेँ भारत सरकालाई । यति सुविधार सरल यातायातको व्यवस्था गरेको यहाँको सरकारले हाम्रो देशका नेताहरूमा कहिले त्यस्तो बुद्धि आउँला ?’ मुम्बईमा उहाँले खरिद गर्नुभएको सामानमा पनि नेपालमा भन्दा धेरै पैसा कम परेको भन्दै उहाँले सुनाउनुभयो । 

हामी असाध्यै जटिल अवस्थाबाट गुज्रिरहेका छौँ । यहाँ गरिबी छ अनि यहीँ महँगीको चरम राप पनि छ । यहाँ सरकार कर्मचारीलाई कम तलब दिन्छ अनि यहीँ मासी निस्कने गरी कर लगाउँछ । अरू कर्मचारीहरूलाई भ्रस्टाचार गर्ने छिद्रहरू बनाइदिन्छ र कानमा तेल हालेर बस्छ तर शिक्षकलाई तलब दिन कन्जुस्याइँ गर्छ र अनेक अङ्कुश लगाएर राख्न खोज्छ । कस्तो बिडम्बनापूर्ण अवस्था छ यहाँ । ति नै भारतीयहरू ५०÷६० हजार तलब खाएर आफ्नै गाडी चढेर हिँड्ने हैसियत राख्छन् तर यहाँ बाँच्न धौ धौ पारिदिन्छ सरकार । के यही हो गणतन्त्रको उपहार ? यहाँ नागरिकले सुखी भएर बाँच्न कुन तन्त्र आउनुपर्ने हो ? 

कार्तिक २१ गते बिहानै खाना खाएर सबै सामानसहित गाडीमा बस्यौँ । दिनभर दिल्लीका विभिन्न स्थानको अवलोकन ग¥यौँ । कुतुब मिनार, इण्डियागेट, लाल किल्ला, गान्धी समाधिस्थललगायतका स्थानको अवलोकन गरियो । नयाँ ठाउँ देखियो नयाँ कुराको अनुभव लिइयो तर योभन्दा भव्य छैनन् र हाम्रा मकवानपुरगढी गोरखा दरबारलगायतका स्थानहरू ? यिनमा विदेशी पर्यटक भित्र्याउन खोइ पहल भएको ? 

साँझ हामी आनन्दविहार टर्मिनलमा आयौँ । त्यहाँबाट गोरखपुर एक्सप्रेसको प्रतीक्षा ग¥यौँ । साँझ ८ बजे सो एक्सप्रेसमा चढ्यौँ । आज रेलको खाना खान मन लागेन र हामीले आफैँसँग भएको मकै बदामलगायतका खानेकुरा खाएर भोक मेटायौँ । भोलिपल्ट बिहान ७ः४० मा आइपग्नुपर्ने रेलले ८ः४० मा गोरखपुर ल्याइपु¥यायो ।   

अब त्यहाँ अलमल नगरी रक्सोलसम्म आउन हाम्रो मन हतारिएको थियो । नेपाली भूमिलाई स्पर्श गर्न आतुर थियो । हुन त गोवादेखि गोरखपुर आइपुग्दै घर नजिकै आए जस्तो हुन थालिसकेको थियो । बसका लागि कमल सर, सुदीप सरलगायतका टोलीले निकै मिहिनेत ग¥यो ।  १५ हजार भारतीय रुपियाँ तिरेर रक्सौलसम्म आउनका लागि बस त पायौँ तर त्यस बसमा केहीबेर सामान्य विवाद भयो । सकेसम्म हामीलाई अलमल्याउन खोज्ने, ठगी गर्न पाइन्छ भनी आलटाल गर्न थाल्यो तर हामीसँग हुनुभएका साथीहरूले केही प्रतिवाद गरेपछि उसले गाडी अगाडि बढायो । तर गाडीले यति झमेला ग¥यो कि हामीलाई दिक्कदार बनायो तर हामीले धैर्य ग¥यौँ । खाना खाने ठाउँमा होटलवालाले एक जनाको पैसानपाएको भन्दै हाम्रो बदनाम गराउन खोज्यो । गाडी बिग्रेको निहुँ पारेर बिचमा अर्काे गाडीमा हालेर हामीलाई पठायो । राति ८ बजे मात्र हामी रक्सौल आइपुग्यौँ । त्यहाँबाट अटो चढेर सीमावारि आइपुग्दा ९ बजेको हुँदो हो । जब वीरगन्ज आइपुगियो सहर त हरहर बास्ना आउन लाग्यो ।  

यहाँको हावाको सिरसिर बतासले मायालु स्पर्श गरे जस्तो लाग्न थाल्यो । मसँग न्यास्रिंएर यहाँ बतास मसँग लुटपुटिए जस्तो लाग्न थाल्यो । वीरगन्जका घरहरू मेरा आफ्नै घर जस्तो लाग्न थाल्यो । वीरगन्जबाट रिजर्भ गरेको बसमा चढेर हेटौँडातर्फ लाग्दा जति नजिक आयो त्यति मन हलुका हुँदै गयो । जितपुर, सिमराका उद्योग र पसलहरूबाट दुर्गन्ध आएजस्तो लाग्थ्यो तर होइन रहेछ त्यो मेरो देशको मौलिक गन्ध पो रहेछ । मेरो देशको पसिनाको सुगन्ध रहेछ । जसै पथलैया आइपुगियो रुखहरू हाम्रो उपस्थितमा नाचिरहेका थिए । हावा हामीलाई अमृत दिन्छु भन्दै थियोे ।  

यहाँका बोट बिरुवा, हावा पानीसँग म ११ दिनमै कति न्यास्रिएछु मनभरी त्यसलाई हेरिहूँ झैँ भयो । झ्याल खोलेर सबै हावा आफैले मात्र लिऊँ झैँ भयो । हेटौँडामा आएर ओर्लँदा १०ः३० बजिसकेको थियो । त्यो जमिनको माटो निधारमा लगाएर मात्र झरुँ जस्तो भयो । आँखाबाट तरक्क एक थोपा आँसु खस्यो । 

भ्रमणमा जति रमाइलो मानियो त्यति नै मनभरी पीडा पनि बोकियो । हामी यात्रामै रहँदा कक्षा १० मा अध्ययनरत सुरक्षा चौधरीको असामयिक निधनको खबरले हामी मर्माहत भएका थियोँ । सरल स्वभावकी सुरक्षाले किन यसरी यति अमूल्य जीवन बर्बाद गरिन् मन भित्रैदेखि कुडिएको थियो मनमनले श्रद्धान्जली दिनुको विकल्प हामीसँग थिएन । त्यति मात्र होइन नेपालमा जाजरकोट र रुकुममा भूकम्पले सयौँ नागरिले ज्यान गुमाएको र कयौँ मानिस घरबारबिहीन भएका समाचारले एकपछि अर्काे पीडा मनमा थपिरह्यो । यता विद्यालयले बज्रपात व्यहोरिहँदा देशले अर्काे बज्रपात सहन गर्दै थियो यस्ता घटनाका बिचको यात्रामा न कुनै रङ्ग थियो न कुनै रस ।  

कर्तिक १२ गतेदेखि २२ गतेसम्म भारतको भ्रमण गरेर हामीले केही कुरा सिक्ने अवसर भने अवश्य नै पायौँ । नयाँ ठाउँको अवलोकन, नयाँ मानिससँगको साक्षात्कार, विद्यालय परिवारसँगको निकटता यही त हो नि समूहिक यात्राको लाभ । 

 






प्रतिक्रिया

विमल घिमिरे ४ मंगशिर २०८०, सोमबार

ज्योति सरको नियात्रा लेखन शैली बेजोड छ । लेखमा वहाँले अनुभूत गरेका कुराहरुले आफू नेपाली भएकोमा गर्वको अनुभूति भयो । मातृभूमि नेपालप्रति अगाध प्रेम त छँदै थियो त्यो अझ गाढा भएर बढेको अनुभूति भयो । वा वाध्यात्मक परिस्थितिले म यस पालिको भ्रमणमा सरिक हुन नसके पनि सरको सुन्दर यात्रा वर्णन / प्रतिवेदनले आफू पनि सँगै भए झैँ प्रतीत भयो । सरले हरेक कुरालाई आफ्नो राष्ट्रसँग तुलना गरेर वर्णन गर्नु भएको छ । त्यस कुराले धेरै हदसम्म आफ्नो बास स्वर्गमै छ कि भने झै अनुभूति भयो । धन्य मेरा वीर पुर्खा , धन्य मेरो देश नेपाल । धन्य मेरा सहकर्मी मित्र आदरणीय ज्योति सर , जसले नियात्रा वर्णन मार्फत अमृतरुपी चास्नीमा चुलुम्मैं डुबाई दिनुभयो ।

यादवराज बराल २ मंगशिर २०८०, शनिबार

यात्रा संस्मरणमा यथार्थता, पीडा र दुःख बढी पाइयो। जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी भन्ने प्रमाण प्रसस्त भेटिए। यात्रा न हो, त्यो एउटा सुख - दुःखको समिश्रण ठानेर अपनत्व स्वीकार गर्न अनुरोध गरें।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार