हेटौँडा १२ पान्तलेस्थित टासी तेर्लिङ गुम्बाको शुक्रबार शीलान्यास गरिएको छ । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपकबहादुर सिंहले गुम्बाको शीलान्यास गर्नुभएको हो ।
मकवानपुर जिल्लाकै पुरानो सो गुम्बा वि.सं. २००३ सालमा बनेको थियो । २०७२ सालको भूकम्पले भत्किएपछि गुम्बा पुनर्निर्माण हुन सकेको थिएन । केही समय अघि निगरानी अनलाइन र निगरानी टिभिमा गुम्बाको बारेमा समाचार र भिडियो प्रकाशन तथा प्रसारण भएपछि धेरै सहयोगी दाताहरूले गुम्बा निर्माणका लागि चासो देखाएपछि गुम्बा निर्माण समिति गुम्बा निर्माणका लागि जुटेको हो ।
गुम्बा शीलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दीपकबहादुर सिंहले गुम्बा निर्माण पूरा गर्ने जिम्मा आफूले लिने बताउनुभयो । उहाँले सबै मिलेर गुम्बा निर्माणका लागि सहयोग गर्न आग्रह गर्दै बाँकी रहेको काम पूरा गर्ने जिम्मेवारी आफ्नो भएको बताउनुभयो ।
टासी तेर्लिङ गुम्बा निर्माणका लागि पर्यटन मन्त्रालय र प्रदेश सरकारसामु कुरा राखे पनि कुनै सुनुवाइ नभएको बताउनुभयो । मन्त्रालयमा पनि बजेट बाँडफाँडमा विभेद हुने गरेको उहाँले बताउनुभयो ।
आफू अहिले सांसदका रूपमा रहेको भन्दै कसैलाई पक्षपात नगर्ने सिहले बताउभयो । उहाँले भन्नुभयो, “म सबैलाई समान व्यवहार गर्छु । यो गुम्बा सबै मिलेर बनाउँ । बाँकी म आफै बनाउँछु । हेटौँडा वडा नम्बर १२,१३,१४ र १५ का गुम्बाहरु बनाउँछु भनेको छु । शान्तिका देवता गौतमबुद्धको भवन बनाउनका लागि म तयार छु । ” अहिले संसारमा अशान्ति मच्चिरहेको बेलामा यस्ता गुम्बा बनाउन आवश्यक रहेको सांसद सिंहको भनाइ थियो ।
आफूले जनप्रतिनिधिका नाताले गर्नुपर्ने काममा कुनै कन्जुस्र्याइँ नगर्ने भन्दै सांसद सिंहले जनताको सुख र दुखमा आफ्नो साथ र सहयोग सधैँ रहने बताउनुभयो ।
“देशमा साँच्चै भन्ने हो भन्ने धर्मका आधारमा विवाद भइरहेको छ । जातजातका आधारमा विवाद भइरहेको छ यस्तो हुनु हुँदैन भन्ने कुरामा हिन्दु र बुद्धको समान मत रहेको छ । ” सिंहले भन्नुभयो ।
आफूले गर्नुपर्ने सहयोगमा आफूलाई भोट हाल्ने र नहाल्ने भनेर भेदभाव नगर्ने बताउँदै उहाँले दुबैको आफूले कल्याण गर्ने बताउनुभयो । मकवानपुरबासीको सहयोग र साथमा रहँदै मकवानपुरबासीको टाउको निहुरिने काम कहिल्यै नगर्ने बताउनुभयो ।
निगरानी अनलाइन र टिभीमा समाचार प्रकाशनपछि अहिलेसम्म गुम्बा निर्माणका लागि करिब ८ लाख रुपियाँ सहयोग सङ्कलन भएको निर्माण समितिका संयोजक पाल्साङ लामाले बताउनुभयो ।
देश विदेशबाट सयोग प्राप्त भएको र अझै सहयोग प्राप्त हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
अहिलेसम्म हेटौँडा १० कर्राका सुरेश दोङ लामाले युएसबाट ५ लाख सहयोग गरेका छन् । वडा नम्बर १२ रमेश घलानले र साथीहरु बिरु+कुमारी तितुङ्ग १६ हजार १२१, विनोद गोले हेटौँडा ५ बाट १३ हजार ११० , रोसन झा सर्लाही १५ हजार ११५, मोहन वाइबा कैलाशबाट ५ हजार ५२५ अंगत सिन्तान कैलाशबाट २ हजार ५५५, कुमार थिङ पोखरा ११ हजार १११, सच्चा मोक्तानबाट २ हजार २०५, सुजन थिङ, कलैया ७ बाट २ हजार ५ दीपेन्द्र झा मलंगवा सर्लाही ५हजार ५ सविन सिन्तान कैलाश १० ३ हजार ५०, हेमबहादुर बस्नेत हेटौँडा ५ बाट २ हजार १४५ सुजल श्रेष्ठ पोखरा ५ हजार १५५ रुपियाँ सयोग प्राप्त भएको र अझै सहयोग प्राप्त हुने क्रम जारी रहेको संयोजक लामाले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १२ का कार्यकारी वडाध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, लामा गुरु पुण्यसिद्धी लामा , गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मङ्गलबहादुर लामा, निर्माण समितिका संयोजक पाल्साङ लामालगायतको उपस्थिति रहेको थियो ।