हेटौँडामा उपभोक्ता लुटिरहँदा अनुगमन गर्ने संयन्त्र निदाइरहन्छ

Nigarani Online 318+ समाचार ( )
आदर्शसिंह थोकर
११ अशोज २०८०, बिहीबार

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले हेटौँडा बजार क्षेत्रका किराना पसल र होटल, रेष्टुरेन्ट र मिठाई पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा उपभोग गर्ने म्याद गुज्रेका पेय पदार्थ, चियापति, मसलाजन्य पदार्थ र सुजी जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ ।

चाडपर्व नजिकिएसँगै हेटौँडामा फेरि बजार अनुगमनको नाटक सुरु भएको छ । यो बर्सेनी यसै समयमा सुरु हुन्छ । अनि चापर्वको अन्त्यसँगै अन्त्य पनि हुन्छ । 

अनुगमन नियमित चलिरहने प्रक्रिया हो । यो कहिल्यै रोकिनु हुँदैन ।  बजारमा देखिने अनियमितता अन्त्य गर्न कुनै खास समय पर्खिनु हुँदैन ।  चाडपर्व र अवसरमा मात्र कुर्नु हुँदैन । यो त होइन हरपल हरबखत भइरहनुपर्छ ।  

नागरिकले सधैँ स्वच्छ र सफा वस्तुको उपभोग गर्न पाउनुपर्छ । नागरिकले कुनै पनि बेला ठगिनु हुँदैन तर यहाँ अघिपछि जेजे गरे पनि कुनै पनि निकायले चासो राख्दैन । न जिल्ला प्रशासन कार्यालयले चासो राख्छ न उपभोक्ता हित संरक्षण मञ्चले नै तत्परता देखाउँछ । तर जब चाडपर्वको सुरुआत हुन्छ तब सबैको नाटक सुरु भइहाल्छ । 

अन्य समयमा कति उपभोक्ता ठगिइरहेका छन् ? कति कालोबजारीको चपेटामा परेका छन् ? यस कुराको हेक्का राखिँदैन । अनुगमन गर्ने निकाय मौन बसिदिन्छ, निदाइदिन्छ । उपभोक्ताको अधिकार हनन भइरहँदा कसैलाई कुनै चासो हुँदैन ।  

उपभोक्ता हित संरक्षण मञ्च नामक संस्था पनि चाडपर्व लागेपछि जागेको जस्तो गर्छ । केही दिन चुरीफुरी देखाउँछ । फेरि जस्ताको तस्तै । 

संसारमा धेरै उपभोक्ता ठगिने देश नै सायद नेपाल होला । यहाँ हरेक वस्तुमा कालोधन्दा छ । हरेक वस्तुमा उपभोक्ता लुटिइरहेका छन् । नागरिकलाई बजार निस्कनु, उपभोग्य वस्तु खरिद गर्न जानुपर्दा एक पटक सोच्नुपर्ने अवस्था छ । मानौँ बजार जानु, सामान खरिद गर्न जानु भनेको आतङ्कित हुन जानु हो । बजार आतङ्कित बनाउने क्षेत्र बनेको छ ।  भयावह अवस्था छ बजारको । कुनै पनि सामान खरिद गर्नुभन्दा अगाडि मोलमोलाई गर्नुपर्छ । बार्गेनिङ नगरी कुनै पनि वस्तु खरिद गर्न सक्ने अवस्था छैन । 

व्यापारी मनलाग्दी मूल्य भनिदिन्छ । उपभोक्तालाई कुन सामानको वास्तविक मूल्य कति हो भन्ने कुराको जानकारी हुँदैन । उनीहरू पनि हचुवाको भरमा मूल्य घटाउन बार्गेनिङ गर्छन् । तर उपभोक्ताको मोल घटाइको बार्गेनिङ र व्यापारीको मल्य आकाश जमिनको फरक भइदिन्छ । जसले गर्दा सर्वसाधारण उपभोक्तासँग मनलाग्दी पैसा असुलेर ठगिधन्दा चलिरहेको छ । 

चाहे खाद्य सामग्रीमा होस् वा कपडाका सामानहरू वा अन्य कुनै पनि सामा खरिद गर्दा होस् जहाँसुकै पनि उपभोक्ता लुटिइरहेका छन् । 

सामानको निश्चत मूल्य तोकेर पसलमा टाँस्न लगाउने काम गरेमा उपभोक्तालाई पनि सहज हुने थियो । मोलमोलाई गरिरहनुपर्ने थिएन । तर यसतर्फ कसले चासो दिने ? उपभोक्ता हित संरक्षण मञ्च नामको संस्थाको काम गराई विश्वसनीय छैन । उसको काम गराई अनुगमनको तरिका देख्दा लाग्छ ऊ कुनै दाउ र मौका कुरेर मात्र अनुगमनमा निस्कन्छ । कुनै निश्चित अवसर हेर्छ ।  सरकारी संयन्त्रको त के कुरा गर्नु । उनीहरूलाई पनि लाभको कुराले मात्र प्रभावित बनाइरहेको हुन्छ । 

जहाँ अनुगमन गर्दा आर्थिक लाभ हुने अवस्था देखिन्छ अनि मात्र सुरु हुन्छ देखावटी अनुगमन । 

अनुमगन पनि विश्वसनीय छैन । जहाँ वास्तविक रूपमा उपभोक्ता ठगिइरहेका हुन्छन् त्यस ठाउँलाई न उपभोक्ता हित संरक्षण मञ्चले देख्छ न सरकारको अनुगमन गर्ने निकायले देख्छ । 

बजार व्यवस्थित बनाउने काम गर्न सकिरहेको छैन । मूल्यसूची अनिवार्य राख्न लगाएर उपभोक्तालाई ठगिने वअस्थाबाट जोगाउन सकिरहेको छैन ।अनि बेला बेलामा गरिने यस्ता अनुगमको स्वाँग रचेर उपभोक्ताको आँखामा छारो हाल्ने कामभन्दा बाहेक केही हुन सक्दैन । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको अनुगमनपछि एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले जिल्ला प्रशासन कार्यालय, हेटौँडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्तावादी संस्थाका प्रतिनिधिको सहभागितामा अनुगमन भएको जनाएको छ । 

अनुगमन टोलीले साढे २ केजी चियापत्ति, १५ बोतल पेय पदार्थ, ३ केजी मसलाजन्य पदार्थ र ४ केजी सुजी जफत गरी नष्ट गरेको जनाएको छ । चाडपर्व सुरु भएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनको कार्य थालेको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार